नेकपा संयुक्तको चेतावनी : देश दुर्घटनातर्फ जाँदैछ, नयाँ दलबाट पनि भरोसा हरायाे
काठमाडौं । घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले मुलुक तीव्र राजनीतिक अस्थिरता र सम्भावित दुर्घटनातर्फ उन्मुख हुँदै गएको ठहर गरेको छ । पार्टीले वर्तमान अवस्थाबाट मुलुकलाई जोगाउन व्यापक राष्ट्रिय छलफल आवश्यक रहेको भन्दै सबै राजनीतिक शक्ति, बुद्धिजीवी र नागरिक समाजलाई संवादमा आउन आह्वान गरेको छ ।
आइतबार सार्वजनिक गरिएको वक्तव्यमा नेकपा संयुक्तले पुराना राजनीतिक दलहरू नेतृत्व केन्द्रित, बिचौलियाको प्रभावमा परेका र आन्तरिक लोकतन्त्रविहीन बन्दै गएको आरोप लगाएको छ । वक्तव्यमा भनिएको छ, ‘पुराना पार्टीहरू नेताको निजी सम्पत्तिजस्तै बनेका छन् । लोकतन्त्र र सिद्धान्त उनीहरूका लागि नारामा सीमित भएका छन्।’
पार्टीले ‘नयाँ’ भनेर चिनिएका राजनीतिक शक्तिप्रति पनि गम्भीर प्रश्न उठाएको छ । नेकपा संयुक्तका अनुसार ती दलहरूमा स्पष्ट वैचारिक आधार र दीर्घकालीन दृष्टिकोण देखिँदैन । ‘जसरी भए पनि छिटो सत्तामा पुग्ने आकांक्षा बाहेक नयाँ भनिएका दलहरूसँग कुनै ठोस विचार वा सिद्धान्त छैन’, वक्तव्यमा उल्लेख छ । पद र सत्ताको भागबण्डाका लागि देखिएको प्रतिष्पर्धा र राजनीतिक चर्तिकलाले उनीहरू पनि पुरानै राजनीतिक संस्कृतिको निरन्तरता भएको संकेत गर्ने पार्टीको निष्कर्ष छ ।
नेकपा संयुक्तले वर्तमान पुराना र नयाँ दलहरूबीच बनेका गठबन्धनमध्ये निर्वाचनमा जोसुकै विजयी भए पनि देश अझ गहिरो अस्थिरता र द्वन्द्वतर्फ धकेलिन सक्ने खतरा औंल्याएको छ । वक्तव्यमा भदौ २३ र २४ गते जस्ता विगतका घटनाहरूको स्मरण गर्दै त्यस्तै प्रकृतिका दुर्घटनाहरू पुनः दोहोरिन सक्ने चिन्ता व्यक्त गरिएको छ ।
पार्टीले नयाँ राजनीतिक शक्तिहरूलाई प्रत्यक्ष प्रश्न गर्दै भनेको छ, ‘तपाईंहरूको कुन विचार, सिद्धान्त र संगठनले राष्ट्रलाई अहिलेको दुर्गतिबाट जोगाउन सक्छ ?’ यी प्रश्नको विश्वसनीय उत्तर नआएसम्म आगामी निर्वाचनको परिणामले मुलुकलाई कुनै ठोस दिशा नदिने नेकपा संयुक्तको ठहर छ । नेकपा संयुक्तले देशको भविष्यसँग जोडिएको गम्भीर बहस सुरु गर्न हार्दिक अपिल गरेको छ । ‘आज नेपालले कस्तो राजनीति, कस्तो राजनीतिक पार्टी र कस्तो नेतृत्व खोजिरहेको छ भन्ने विषयमा खुला र गहिरो सार्वजनिक छलफल गरौँ’, वक्तव्यमा भनिएको छ।


