बालेनप्रति आरोप : ‘लौरो’ स्वतन्त्रताको साझा प्रतीक हो, ‘बार्गेनिङ’ को हतियार बनाए
काठमाडौं । स्वतन्त्र राजनीतिक अभियानको प्रतीकका रूपमा स्थापित ‘लौरो’ चुनाव चिह्नलाई लिएर विवाद चुलिँदै गएको छ । लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानले संयुक्त रूपमा काठमाडौंमा आयोजना गरेको विशेष भेला तथा पत्रकार सम्मेलनमार्फत काठमाडौं महानगरपालिकाका मेयर तथा रास्वपाका नेता बालेन्द्र साह (बालेन) लाई लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सम्मानजनक र आधिकारिक रूपमा फिर्ता गर्न आग्रह गरेका छन् ।
लौरो अभियानका अभियन्ता डम्बर साहुले बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेसँगै लौरो चुनाव चिह्न अब उनको वा उनको समूहको रहन नसक्ने स्पष्ट पारे । उनका अनुसार लौरो कुनै व्यक्ति, समूह वा गुटको स्वामित्वमा रहेको चिह्न होइन, यो देशभरका स्वतन्त्र व्यक्तिहरूको साझा प्रतीक, आस्था र धरोहर हो । ‘लौरो स्वतन्त्रताको चिन्ह हो, यसलाई सुरक्षित रूपमा स्वतन्त्र समूहलाई फिर्ता गरिनुपर्छ’, उनले भने ।
बुद्धनगरस्थित एक बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमा अभियन्ताहरूले बालेन साहमाथि लौरो चुनाव चिह्नलाई राजनीतिक बार्गेनिङको हतियार बनाएको गम्भीर आरोप लगाए । उनीहरूले भने, ‘रास्वपामा प्रवेश नगर्दासम्म बालेन्द्र साह लौरो अभियानका स्टेकहोल्डर थिए । तर दलगत राजनीतिमा प्रवेश गरेपछि लौरो प्रयोग गर्नु स्वतन्त्रताको मूल मर्म विपरीत हुन्छ ।’ पत्रकार सम्मेलनमा स्वतन्त्र अभियानका प्रतिनिधिहरूले लौरो केवल चुनाव चिन्ह मात्र नभई स्वतन्त्र विचार, पुस्तान्तरण र रुपान्तरणको अभियानको प्रतीक भएको बताए ।
उनीहरूका अनुसार देशभरका स्वतन्त्र व्यक्तिहरूले लौरो चिह्नलाई साझा सम्पत्तिका रूपमा अघि बढाउँदै आएका छन् र यसलाई कुनै पनि व्यक्तिको निजी स्वार्थमा प्रयोग गर्नु स्वीकार्य हुन सक्दैन । अभियन्ताहरूले बालेन साह र उनको टिमलाई लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सुनिश्चित, सम्मानजनक र आधिकारिक रूपमा फिर्ता गर्न पुनः जोडदार माग गरेका छन् । साथै, लौरो कुनै पनि अवस्थामा व्यक्ति, समूह वा गुटको निजी सम्पत्ति नरहेको उनीहरूको निष्कर्ष छ ।
