`

सुदन गुरूङ गोरखा-१ बाट चुनाव लड्ने

Nepal One HD २५ पुष २०८२ १७:३५
राजनीति

हामी नेपालका संस्थापक सुदन गुरूङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। उनले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक यात्राको नयाँ अध्याय सुरु गर्न लागेको जानकारी दिएका हुन्। लामो समयदेखि सामाजिक अभियन्ता तथा उद्यमशीलताको क्षेत्रमा सक्रिय गुरूङको यो घोषणा गोरखा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि चासोको विषय बनेको छ।

घोषणासँगै गुरूङले गोरखाको माटोबाटै परिवर्तनको सुरुवात गर्न चाहेको स्पष्ट पारेका छन्। ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु’, सुदनले फेसबुकमा लेखेका छन्, ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरूवात, नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’

उनको यो भनाइले पुरानो राजनीतिक अभ्यासभन्दा फरक धार प्रस्तुत गर्न खोजेको संकेत गर्छ। उनले युवाशक्ति, पारदर्शिता र जवाफदेहितालाई आफ्नो प्रमुख एजेन्डा बनाउने बुझिएको छ।

हालसम्म गुरूङले कुन राजनीतिक दलबाट निर्वाचनमा सहभागी हुने भन्ने विषयमा भने खुलासा गरेका छैनन्। यद्यपि पछिल्लो समय उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, पूर्व उर्जामन्त्री कुलमान घिसिङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सम्बन्धित राजनीतिक संवाद र सहकार्यमा सक्रिय देखिएका थिए। यसले उनी वैकल्पिक राजनीति र नयाँ शक्ति निर्माणको प्रयासमा रहेको अनुमान गर्न सकिन्छ।

गोरखा–१ को राजनीतिक इतिहास हेर्दा, गत प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेको थियो। उक्त गठबन्धनबाट कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाई विजयी भएका थिए। यसपटक भने नयाँ अनुहारका रूपमा सुदन गुरूङको प्रवेशले गोरखा–१ को प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ। अब उनको दल चयन र भावी एजेन्डाले मतदाताको भरोसा कति जित्न सक्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *