`

‘दास’ को आरोपमा एमालेको प्रतिवाद : हामी आजका स्पार्टाकस हौं

Nepal One HD २८ पुष २०८२ १२:३३
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई लिएर नेकपा एमालेका महासचिव शंकर पोखरेलले तीखो राजनीतिक प्रतिवाद गरेका छन् । कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहमा थापाले एमालेतर्फ संकेत गर्दै कांग्रेस ‘दास र लाशहरूको पार्टी होइन’ भनेर दिएको अभिव्यक्तिलाई पोखरेलले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन् ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनमा थापाले कांग्रेस कुनै पनि नेताले ‘नबोल’ भन्दा नबोल्ने दासहरूको पार्टी नभएको र प्रश्न उठाउने जीवित मानिसहरूको पार्टी भएको दाबी गरेका थिए । यही भनाइलाई लक्षित गर्दै एमाले महासचिव पोखरेलले देश गम्भीर संकटको अवस्थामा रहेको बेला उत्सव मनाउन नसक्नेहरूलाई कसैले ‘दास’ ठान्न सक्ने भए पनि ती नै समयका स्पार्टाकस हुन सक्ने बताएका छन् ।

फेसबुकमा लेख्दै पोखरेलले देश, संविधान र लोकतन्त्रको भविष्य संकटमा परेको घडीमा उत्सव र आत्मसन्तुष्टिको राजनीति गर्न नसक्नु कमजोरी नभई जिम्मेवारी भएको जिकिर गरेका छन् । जन–जनको हृदय जलिरहेको बेला राजनीतिक उत्सव मनाउने मानसिकता नै प्रश्नको घेरामा पर्नुपर्ने उनको संकेत छ । विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता भएको र त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु नै साहस भएको उनको भनाइ छ ।

पोखरेलले भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नुलाई दासता र त्यसका विरुद्ध आवाज उठाउनुलाई स्वाभिमानको प्रतीकका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार तथाकथित ‘दास’ भनिएका शक्तिहरू नै स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर नयाँ युगको आधार निर्माण गर्ने स्पार्टाकस बन्न सक्छन् ।

उनले प्रयोग गरेको ‘स्पार्टाकस’ शब्द आफैंमा गहिरो राजनीतिक र वैचारिक अर्थ बोकेको छ । प्राचीन रोमन साम्राज्यका दास योद्धा स्पार्टाकसले सन् ईसापूर्व ७३ मा दासहरूलाई संगठित गर्दै शक्तिशाली रोमन शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए । यद्यपि विद्रोह अन्ततः दमन गरियो, तर उनले साम्राज्यको जग हल्लाइदिएका थिए । यही कारण वामपन्थी राजनीति र साहित्यमा स्पार्टाकसलाई अन्यायपूर्ण व्यवस्था विरुद्धको प्रतिरोध, साहस र वर्ग संघर्षको प्रतीक मानिन्छ ।

कार्ल माक्र्सले स्पार्टाकसलाई सम्पूर्ण प्राचीन इतिहासको सबैभन्दा उत्कृष्ट पात्र र वास्तविक सर्वहारा वर्गको प्रतिनिधि मानेका थिए । पहिलो विश्वयुद्धको समयमा रोजा लक्जेम्बर्ग र कार्ल लिब्कनेख्तले जर्मनीमा स्थापना गरेको ‘स्पार्टाकस लिग’ पनि यही प्रतीकबाट प्रेरित थियो, जसले पछि जर्मन कम्युनिष्ट पार्टीको रूप लियो । वामपन्थी साहित्यमा स्पार्टाकस हार स्वीकार नगर्ने, तर झुक्न नजान्ने पात्रका रूपमा चित्रित छन् ।

यही ऐतिहासिक र वैचारिक पृष्ठभूमिलाई सन्दर्भ बनाउँदै पोखरेलले कांग्रेस महामन्त्रीको आरोपलाई उल्ट्याउँदै एमाले नेतृत्व र कार्यकर्तालाई ‘आजको समयका स्पार्टाकस’ का रूपमा प्रस्तुत गरेका छन् । उनको सन्देश स्पष्ट छ–आरोप र कटाक्षभन्दा माथि उठेर आफूहरू अन्याय, हस्तक्षेप र संकटका विरुद्ध उभिएको शक्तिका रूपमा इतिहासले मूल्यांकन गर्नेछ । यस घटनाक्रमले कांग्रेस र एमालेबीचको राजनीतिक तिक्तता अझ सतहमा आएको देखिएको छ । एक पक्षले आफूलाई ‘जीवित र प्रश्न गर्ने’ पार्टीको रूपमा प्रस्तुत गर्दा अर्को पक्षले आफूलाई ‘झुक्न नजान्ने विद्रोही’ का रूपमा चित्रण गरिरहेको छ, जसले नेपाली राजनीतिक बहसलाई थप वैचारिक र प्रतीकात्मक बनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *