`

प्रचण्ड–माधवसहित नेकपाका २५ सय केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरु)

Nepal One HD २९ पुष २०८२ १४:५७
प्रमुख खबर

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसहित पार्टीका २,४९९ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शपथ ग्रहण समारोहमा ज्येष्ठ सदस्य नन्दकुमार (एनके) प्रसाईंले नेतृत्व तहदेखि केन्द्रीय सदस्यसम्मलाई शपथ खुवाएका हुन् ।

तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत विभिन्न वामपन्थी दलहरूको एकताबाट नवगठित नेपाली कम्युनिष्ट पार्टीले संगठनात्मक संरचना औपचारिक रूपमा कार्यान्वयनमा ल्याउने क्रममा शपथ ग्रहण कार्यक्रम आयोजना गरेको हो । पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा सम्पन्न समारोहलाई नेकपाको नयाँ राजनीतिक यात्राको औपचारिक सुरुवातका रूपमा हेरिएको छ ।

पार्टीले कुल २,४९९ जनालाई केन्द्रीय सदस्य बनाएको जनाएको छ । काठमाडौंमा भौतिक रूपमा उपस्थित हुन नसकेका केन्द्रीय सदस्यहरूलाई भने भर्चुअल माध्यममार्फत शपथ गराइएको थियो । यसले पार्टीले प्रविधिको प्रयोगमार्फत संगठन विस्तार र व्यवस्थापनमा ध्यान दिएको संकेत गरेको नेताहरूले बताएका छन् । शपथ ग्रहणसँगै नेकपाले केन्द्रीय सदस्यहरूको औपचारिक परिचयपत्र वितरणको प्रक्रिया पनि अघि बढाएको छ ।

पार्टीका अनुसार १ हजार रुपैयाँ शुल्क बुझाएपछि केन्द्रीय कार्यालयबाट सदस्यहरूलाई परिचयपत्र प्रदान गरिने व्यवस्था गरिएको छ । समारोहमा बोल्दै नेताहरूले पार्टी एकता, आन्तरिक अनुशासन र जनमुखी राजनीतिको आवश्यकतामा जोड दिएका थिए । उनीहरूले वाम एकतालाई सुदृढ गर्दै देशको राजनीतिक स्थायित्व र सामाजिक न्यायका लागि नेकपा सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शपथ ग्रहण कार्यक्रमसँगै नेकपाले आगामी दिनमा संगठन विस्तार, नीति निर्माण र जनस्तरसम्म पहुँच बढाउने तयारी तीव्र बनाउने संकेत दिएको छ ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *