`

भोलिदेखि चौधौँ ‘नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव’

Nepal One HD १ माघ २०८२ २१:२५
चलचित्र

काठमाडौँ – कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन तथा विलक्षण क्रिएसन प्रालिको आयोजनामा ‘नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ को १४औँ संस्करण भोलिदेखि चार दिनसम्म काठमाडौँमा सञ्चालन गरिने भएको छ ।

चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुने उक्त महोत्सवमा नेपालसहित २० देशका ४३ वटा चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महोत्सवमा नेपाली समूहअन्तर्गत करिब चार दर्जनभन्दा बढी चलचित्र, वृत्तचित्र र लघु चलचित्रमध्येबाट २० वटा छनोट भएका छन् । हामीले विश्वभरका चलचित्रकर्मीलाई भेला गरेर ज्ञान आदानप्रदान गर्ने मञ्च तयार गरेका छौँ । यसले हाम्रो चलचित्रलाई विश्वभरका चलचित्रकर्मीसँग परिचित गराउँछ ।”

उहाँले यसपटक विभिन्न देशका १० जना विदेशी चलचित्रकर्मीको सहभागिता रहने महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया, नृत्य कार्यशाला, कला प्रदर्शनी र मास्टर क्लाससमेत सञ्चालन गरिने बताउनुभयो । महोत्सवमा नेपाली चलचित्रतर्फ मिलन चाम्स निर्देशित ‘अञ्जिला’, सरोज पौडेल निर्देशित ‘कोशेढुङ्गा’, ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’, दीपकप्रसाद आचार्य निर्देशित ‘परान’ र नर प्रधान निर्देशित ‘यो मन त मेरो नेपाली हो’ छनोट भएका छन् । वृत्तचित्रतर्फ भीमलाल श्रेष्ठ निर्देशित ‘अरिंगाल म्यान’, रमेश खड्का निर्देशित ‘डान्सिङ इन फायर’ र निशा मानन्धर निर्देशित ‘अ बडी नट माइन्ड’ छनोट भएका छन् ।

नेपालबाहेक अफ्रिकी तथा अन्तरराष्ट्रिय समूहमा कथानक चलचित्रतर्फ बङ्गलादेशको ‘मेमोरी अफ ग्लुमी मनसुन’ र कोट डी आइभोरीको ‘साइलेन्स मोर्टेल’ प्रतिस्पर्धामा छन् । वृत्तचित्रतर्फ युक्रेनको ‘द स्केड्युल अफ फाइटिङ टु लर्न’, एष्टोनियाको ‘अटिस्ट अफ सर्भाइभल’ र जर्मनीको ‘गल्र्स डोन्ट प्ले स्पोट्र्स’ छनोट भएका छन् ।

अफ्रिकन चलचित्रतर्फ इजिप्टको ‘द मङ्की’, ट्युनिसियाको ‘मेट्रो पोलिस’ र मोरक्कोको ‘द चेम्बर’ अन्तिम प्रतिस्पर्धामा छन् । महोत्सवमा ‘सिनेमा, कल्चर एन्ड नेचर’ शीर्षकमा चार दिनसम्म चित्रकला प्रदर्शनी पनि हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *