प्रचण्डसँग प्रलोपाबाट चुनाव लड्दै सन्दिप
काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सन्दीप पुन आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। पूर्वी रुकुमलाई निर्वाचन क्षेत्र बनाएर पुनले चुनावी मैदानमा उत्रने घोषणा गरेका हुन्।
पुनले गत साता सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणा गरेका थिए। त्यसपछि काठमाडौंस्थित रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उनले पूर्वी रुकुम विकासको प्रचुर सम्भावना हुँदाहुँदै पनि पछाडि परेको जिल्ला रहेको उल्लेख गर्दै यसलाई समृद्ध बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताए।
फेसबुकमा लेख्दै पुनले भनेका छन्, ‘विकासको प्रचुर सम्भावना भएर पनि पछि परेको हाम्रो गौरवशाली र विरासत बोकेको जिल्ला रुकुम पूर्वलाई समृद्ध बनाउने र यहाँका आवाजहरूलाई संघीय संसदमा बुलन्द पार्ने अठोटका साथ मैले आउँदै गरेको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु।’ उनले स्थानीय जनताको समस्या, आवश्यकता र आकांक्षालाई संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
सन्दीप पुन १० वर्षे सशस्त्र ‘जनयुद्ध’का शहीद सूर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘वृक्ष’का छोरा हुन्। उनका बुबाआमाको २०५३ साल जेठ २५ गते जनयुद्धकै समयमा जनवादी विवाह भएको थियो। २०५४ सालमा जनयुद्धकै क्रममा जन्मिएका पुनले द्वन्द्वकालीन पीडा र इतिहास नजिकबाट भोगेका छन्।
२०५९ साल जेठ १४ गते बझाङको रायलमा उनकी आमा परम्परा गौतम र सोही महिनाको २३ गते बझाङकै सैसुमा उनका बुवा सूर्यप्रकाश पुनको तत्कालीन शाही सेनासँगको दोहोरो भिडन्तमा मृत्यु भएको थियो । हाल सन्दीप पुन शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनका अध्यक्षसमेत हुन् ।
उनी नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्ने दाबी गर्दै चुनावी मैदानमा उत्रिएका छन्।
