एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता
सिउल । गैर आवासीय नेपाली संघ दक्षिण कोरियामा विगत केही समयदेखि देखिएको सांगठनिक अन्योल र विभाजन अन्ततः समाप्त भएको छ । एनआरएनए आइसीसी अध्यक्ष महेश कुमार श्रेष्ठको कोरिया भ्रमणका क्रममा दुवै पक्षाबीच एकता भएको हो । कोरियाको विवाद मिलाउने उद्देश्यका साथ जापानबाट गएका अध्यक्ष श्रेष्ठले दुवै पक्षबीच लगातार वार्ता गरेका थिए ।
अन्ततः ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै कोरियामा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउन दुई समानान्तर समितिबीच मंगलबार ‘बृहत् एकता सहमति पत्र’मा हस्ताक्षर भएको अध्यक्ष श्रेष्ठले कोरियाबाट जानकारी दिए ।
१० औं महाधिवेशनबाट निर्वाचित पार्वती लामा नेतृत्वको कार्यसमिति र बृहत एकता महाधिवेशनबाट निर्वाचित विपिन कुमार गुरुङ नेतृत्वको कार्यसमितिबीच एक–अर्काको अस्तित्व स्वीकार गर्दै अगाडि बढ्ने सहमति भएको जनाइएको छ । दक्षिण कोरियामा रहेका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा लगाउने साझा उद्देश्यका साथ एकता प्रक्रिया अघि बढाइएको एनआरएनए दक्षिण कोरियाले जनाएको छ । सहमति अनुसार दुवै पक्षले एक–अर्काको नेतृत्व र अस्तित्वलाई स्वीकार गर्दै संस्थालाई एकढिक्का बनाएर लैजाने छन् भने सांगठनिक एकताका कामहरू अगाडि बढाउन दुवै पक्षबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवसहित ४–४ जना गरी कुल ८ सदस्यीय स्टेरिङ कमिटी गठन गरिनेछ ।
त्यसैगरी स्टेरिङ कमिटीको बैठकको अध्यक्षता दुवै पक्षका अध्यक्षले आलोपालो गर्ने सहमति पनि भएको छ । एकताको बाँकी प्रक्रिया र अन्य प्राविधिक कार्यविधिका लागि स्टेरिङ कमिटीले एनआरएनए केन्द्रिय सहजिकरण समितिसँग समन्वय गरी कार्यविधि तयार पार्ने सहमति भएको छ ।
एकता सहमति पत्र हस्ताक्षर कार्यक्रममा एनआरएनए आइसीसी अध्यक्ष महेश कुमार श्रेष्ठ, क्षेत्रीय उपाध्यक्ष जुनु गुरुङ, एनसीसी सहजीकरण एवं समन्वय समितिका सदस्य प्रकाश धमला र एनसीसी कोरियाका संरक्षक भीम गुरुङको उपस्थिति रहेको थियो । एकतासँगै दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीहरूमा देखिएको अन्योल चिर्दै संस्थालाई परोपकारी र सिर्जनशील बनाउने बाटो खुलेको विश्वास लिइएको छ । केन्द्रमा रहेका दुई समानान्तर समितिहरुका बीचमा एकता भएपछि मार्च १३–१५ मा केन्द्रीय महाधिवेशन आयोजना गरिएको छ भने त्यसअघि एनसीसीहरुको एकता प्रक्रिया पूरा गर्ने लक्ष्य लिइएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
