`

चार कम्युनिस्ट पूर्वप्रधानमन्त्री ‌चुनावी मैदानमा, देउवा चाहिँ दर्शक

Nepal One HD ७ माघ २०८२ १३:३२
निर्वाचन विषेश

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा चार पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा उत्रिएका छन् । कम्युनिस्ट पार्टीबाटै उनीहरू प्रधानमन्त्री भएका हुन् ।

देशको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल, सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन माओवादीबाटै प्रधानमन्त्री भएका हाल प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराई निर्वाचनको मैदानमा उत्रिएका हुन् ।

ओली, नेपाल र भट्टराई पुरानै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन् । दाहाल भने निर्वाचन क्षेत्र परिवर्तन गर्दै रुकुम पूर्व पुगेका छन् । त्यो जिल्ला १० वर्षे माओवादी युद्धको आधार इलाकामध्येको एक हो ।

यी चार पूर्वप्रधानमन्त्रीमध्ये ओली र दाहाल आ–आफ्नो पार्टीबाट भावी प्रधानमन्त्रीका उम्मेदवार पनि हुन् । उनीहरू निर्वाचन जसरी पनि जित्नेगरी प्रतिस्पर्धामा उत्रिएका हुन् । ओली झापा–५, नेपाल रौतहट–१ र बाबुराम गोरखा– २ बाट उम्मेदवार बनेका छन् ।

यी चार पूर्वप्रधानमन्त्रीमध्ये ओली र दाहाल समान तीन–तीन पटक प्रधानमन्त्री भएका छन् । नेपाल र भट्टराई एक/एकपटक प्रधानमन्त्री भए । गणतन्त्र स्थापनापछि उनीहरू प्रधानमन्त्री भएका हुन् ।

ओली र नेपाल समान आठौँपटक उम्मेदवार बनेका हुन् । २०४८ सालदेखि उनीहरूले निर्वाचन लडे । उनीहरू दुवै २०६४ को संविधानसभा निर्वाचनमा पराजित भए । जतिबेला नेपाल एमाले महासचिव थिए ।

ओली झापाको तत्कालीन निर्वाचन क्षेत्र– ७ मा माओवादीका युवा नेता विश्वदीप लिङ्देन र नेपाल काठमाडौं– २ मा माओवादीकै नेता झक्कुप्रसाद सुवेदीसँग पराजित भए । दाहाल पाचौँ र भट्टराई चौथोपटक उम्मेदवार बनेका हुन् । उनीहरू दुवै २०६४ सालको संविधानसभा निर्वाचनदेखि मात्रै उम्मेदवारी बन्दै संसदीय राजनीतिमा होमिएका हुन् ।

यता पूर्वप्रधानमन्त्रीमध्येका कांग्रेस सभापति शेरबहादुर देउवा भने यसपटक उम्मेदवार बनेनन् । उनलाई विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले टिकट नै दिएनन् ।

उनी देशकै एक मात्र त्यस्ता नेता हुन्, जसले २०४८ यताका हरेक निर्वाचन जिते । अर्थात् बहुदल स्थापनापछि भएको २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचन जिते । उनी निर्वाचित हुँदै आएको गृहजिल्ला डडेल्धुराबाट हो ।

गत भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहमा उनी विद्रोहीहरूबाट निशानामा परे । लगत्तै पार्टीमा दुई महामन्त्री गगन थापा र विश्‍वप्रकाश शर्माको निशानामा उनीमाथि पर्‍यो ।

अन्ततः जेन–जी विद्रोहले राजनीतिक छविमा ह्रास आएको अवस्थामा दुई महामन्त्रीले विशेष महाधिवेशनबाट हटाएर राजनीतिको मैदानमा देउवालाई ‘आउट’ गरे । यससँगै देउवा सक्रिय राजनीतिमा नदेखिने भएका छन् ।

ज्योषितशास्त्रमा औधी विश्वास गर्ने देउवा छैटौँपटक प्रधानमन्त्री हुने सुरमा थिए । अब भने उनको प्रधानमन्त्रीको सपना चकनाचुर भएको छ ।

यसले गर्दा कम्युनिस्ट पार्टीबाट प्रधानमन्त्री भइसकेका चार नेता यसपटक पनि प्रतिनिधिसभा निर्वाचनको मैदानमा छँदा देउवा रमिते बन्‍न पुगेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *