`

जहाँ हुँदैछ ‘हेभिवेट’ चुनावी महाभिडन्त

रामचन्द्र जाेशी ७ माघ २०८२ १३:०१
निर्वाचन विषेश

काठमाडौं । अघिल्ला निर्वाचनहरूमा जस्तै यसपटक पनि केही प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा महाभिडन्त हुने देखिएको छ ।

महाभिडन्तमा हुने जित हारले देशको राजनीतिको रुप नै बदल्न सक्छ । त्यसो हुँदा महाभिडन्त हुने क्षेत्र राष्ट्रिय चासोको केन्द्रमा छ ।

सर्वाधिक चासो रहेको झापा–५ मा हो । यहाँ तीनपटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओली र एकपटक काठमाडौं महानगरपालिकाको प्रमुख भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच महाभिडन्त हुँदैछ ।

यी दुवै जना आ–आफ्नो पार्टीबाट भावी प्रधानमन्त्रीका घोषित उम्मेदवार हुन् । ओली आठौँपटक संसदीय निर्वाचनमा उम्मेदवार बन्दा बालेन पहिलोपटक उम्मेदवार बनेका हुन् ।

यी दुई भावी प्रधानन्त्रीका उम्मेदवारमध्ये एकले जित्‍ने र अर्कोले हार्ने निश्‍चत छ । उसो त यहाँ कांग्रेसकी मन्दरा चिमरिया र नेकपाका प्रभावशाली युवा नेता रञ्‍जित तामाङ तथा श्रम संस्कृति पार्टीका युवा नेता समीर तामाङ पनि प्रतिस्पर्धामा छन् ।

मधेस प्रदेशको सर्लाही–४ मा कांग्रेस सभापति गगन थापा र पूर्वकांग्रेसी नेता हालका रास्वपा उम्मेदवार डा. अमरेशकुमार सिंहबीच चुनावी भिडन्त हुँदैछ । थापा आफूले २०७०, २०७४ र २०७९ मा लगातार निर्वाचन जितेको काठमाडौं–४ छाडेर सर्लाही–४ पुगेका हुन् ।

यही क्षेत्र हो, जहाँबाट सिंहले कांग्रेस उम्मेदवार भएर २०७४ मा निर्वाचन जितेका थिए । २०७९ मा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भएर पनि निर्वाचन जितेका थिए । यही क्षेत्रमा थापाले सिंहविरुद्ध धावा बोलेका छन् ।

थापा पनि कांग्रेसले घोषणा गरेको भावी प्रधानमन्त्रीका उम्मेदवार हुन् । उनी पराजित भए पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने उनको सपनामा तुषरापात हुने छ ।

झापा–२ मा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरबीच महाभिडन्त हुँदैछ । घिमिरे एमाले र राना रास्वपा उम्मेदवार हुन् । घिमिरे २०७९ मा निर्वाचित भएका थिए । राना समानुपातिक सांसद थिइन् ।

यसपटक संसद्का दुई नेता प्रतिस्पर्धामा उत्रिएका हुन् । अघिल्लोपटकको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी भएका स्वागत नेपाल राप्रपाबाट उम्मेदवार छन् । पहिले स्वतन्त्र र अहिले उनी दलबाट निर्वाचनमा होमिएका हुन् । विगतको निर्वाचन परिणामलाई आधार मान्दा झापा–२ बाट पटकपटक कम्युनिस्ट उम्मेदवारहरूले निर्वाचन जित्दै आएका छन् । यसपटक के हुन्छ ? हेर्न बाँकी छ ।

गोरखा–२ मा प्रलोपा नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध नेकपाका नेता लेखनाथ न्यौपानेबीच आमनेसामने हुँदैछ । यो क्षेत्र १० वर्षे युद्धकालमा माओवादी प्रभावित क्षेत्र हो । भट्टराई र न्यौपाने युद्धका सहयात्रीसमेत हुन् ।

उनीहरूबीच नै यसपटक भिन्‍नभिन्‍न पार्टीबाट प्रतिस्पर्धा हुन लागेको हो । उसो त यहाँ एमालेले मिलन गुरुङ (चक्रे मिलन) र कांग्रेसले प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाएको छ ।

महाभिडन्त हुने अर्को प्रतिनिधिसभा क्षेत्र बागमतीको चितवन–२ पनि हो । यहाँ यसपटक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभाति रवि लामिछाने उम्मेदवार बनेका छन् ।

सहकारी ठगी मुद्दामा पर्सा जिल्ला अदालत पुगेका कारण उनले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएर तेस्रोपटक निर्वाचनमा उत्रिए । यसअघि पहिलोपटक २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचन र दोस्रोपटक २०८१ को वैशाखमा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा उनी उम्मेदवार बनेका थिए ।

यसपटक पनि उम्मेदवार बनेका उनको क्षेत्र चिवतन–२ मा कांग्रेसकी मीनाकुमारी खरेल प्रतिस्पर्धामा उत्रिएकी छिन् । बाल अधिकार र महिला अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील हुने सामाजिक अभियन्ता पनि हुन् ।

कांग्रेसबाट उम्मेदवार बनेकी उनी प्रभावशाली नेतृ हुन् । उनी यसपटक पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत भइसकेका लामिछानेसँग आमनेसामने भएकी हुन् ।

चितवन–२ एमालेको पनि प्रभाव क्षेत्र हो र यहाँ एमालेबाट लामिछानेसँगको चुनावी भिडन्तमा अस्मिन घिमिरेलाई उतारेको छ । उनी नयाँ उम्मेदवार हुन् । नेकपाले पनि यहाँ यसपटक प्रभावशाली नेता प्रताप गुरुङलाई उम्मेदवार बनाएको छ ।

विगतका दुई निर्वाचनमा लामिछाने प्रतिस्पर्धीहरूभन्दा तेब्बर बढी मतले विजयी भएका थिए । यसबीचमा सहकारी ठगीजस्ता आरोपले उनको छविमा दाग लागेको छ । त्यसो हुनाले यसपटक चितवन–२ मा पनि चर्को भिडन्त हुने ठानिएको छ ।

यस्तै, रुकुम पूर्वमा नेकपा संयोजक पुष्पकमल दाहालसँग कांग्रेस उम्मेदवार कुशुम थापा मगर र एमाले उम्मेदवार लिलामणि गौतम प्रतिस्पर्धा गर्दैछन् ।

निर्वाचन फेरेको फेरेकै गरेका कारण ‘घुमन्ते उम्मेदवार’को छवि बनाएका पूर्वप्रधानमन्त्री दाहाललाई राष्ट्रिय राजनीतिमा त्यति नचिनिएका दुई नेताले टक्कर दिने भएका छन् । त्यहाँ दाहाल सहज जितका लागि गएका हुन् ।

कुशुम र लिलामणि जिल्लावासी हुनाले मतदाताले दीर्घकालसम्मका जनप्रतिनिधि खोजेको अवस्थामा दाहालले पराजय बेहोर्न पनि सक्छन् ।

दाहालकै दल नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई यसपटक मधेश आन्दोलनका शीर्षस्थमध्येका एक नेता अनिलकुमार झाले टक्कर दिँदै छन् । झा कांग्रेस प्रवेश गरेर नेपालसँगको प्रतिस्पर्धा निश्‍चित गरेका हुन् ।

नेपालले पटकपटक यस क्षेत्रबाट निर्वाचन जित्दै आएका छन् । उनको जित रोक्नेगरी झा यसपटक उम्मेदवार बनेर नेपालमाथि चुनौती बढाइदिएका छन् ।

यस्तै, काठमाडौं–३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ उम्मेदवार बनेका छन् । उनलाई टक्कर दिन रास्वपाले काठमाडौं महानगर प्रहरी बलका पूर्वप्रमुख राजुनाथ पाण्डेलाई अघि सारेको छ ।

घिसिङ नेपाललाई १८ घण्टा लामो लोडसेडिङ अन्त्य गरेका नेपाल विद्युत् प्राधिकरणका भूतपूर्व कार्यकारी निर्देशक हुन् । लोकप्रिय छविका उनी सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा ऊर्जा, भौतिक र सहरी विकास मन्त्रालयको नेतृत्व गर्दै हाल निर्वाचनको मैदानमा आएका नेता हुन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचन कांग्रेसका सन्तोष चालिसे र २०७४ को प्रतिनिधिसभा निर्वाचन एमालेका कृष्णकुमार राईले जितेका थिए ।

यस्तै, सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर – १ मा यसपटक महाभिडन्त हुने भएको छ । यहाँ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पहिलोपटक उम्मेदवार बनेका छन् ।

एमाले र एमाले समर्थित उम्मेदवारले मात्रै निर्वाचन जित्ने गरेको यस क्षेत्रमा साम्पाङ बलिया प्रतिस्पर्धीका रूपमा उत्रिएका छन् ।

उनीसँग प्रतिस्पर्धामा एमालेले पूर्वसभासद टीकाराम लिम्बू, कांग्रेसले सुजेन्द्र तामाङ र नेकपाले पूर्ववडाध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाएको छ ।

यो त्यस्तो क्षेत्र हो, जहाँबाट २०४८ मा एमालेका मनमोहन अधिकारी निर्वाचित भए । उनी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री हुन् । २०५१, २०५६, २०७० र २०७४ मा एमालेका उम्मेदवारले मात्रै निर्वाचन जितेका थिए ।

२०६४ मा माओवादी र २०७९ मा एमाले समर्थित जसपाका उम्मेदवारले निर्वाचत जिते । त्यसो हुँदा यो कम्युनिस्ट जनाधार बलियो भएको क्षेत्रमा यसपटक धरानका पूर्वप्रमुखसमेत रहेका हर्कसँग अन्य दलका उम्मेदवारहरूको भिडन्त चर्को हुने भएको छ ।

अर्को महाभिडन्त हुने क्षेत्र झापा– ३ पनि हो । यहाँ २०७४ र २०७९ मा लगातार दुईपटक निर्वाचन जितको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ह्याट्रिक जितको अपेक्षासहित उम्मेदवार बनेका छन् ।

विगतमा कांग्रेसको बलियो प्रभाव क्षेत्र रहेको यस क्षेत्रमा कांग्रेसले राजेन्द्र घिमिरे र एमालेले हरिलाल राजवंशी तथा रास्वपाले जिल्ला सभापति प्रकाश पाठकलाई उम्मेदवार बनाएको छ । यी सबै नेता निकै प्रभावशाली हुन् । उनीहरूले यसपटक राप्रपा अध्यक्ष लिङ्देनसँग कडा टक्कर दिन सक्ने विश्लेषण भइरहेको छ ।

यस्तै नुवाकोट–१ मा नेकपाका उम्मेदवार हितबहादुर तामाङसँग नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतबीच प्रतिस्पर्धा हुँदै छ । तामाङ २०७४ र २०७९ मा लगातार निर्वाचित नेता हुन् । पूर्वमन्त्री तामाङ त्यस क्षेत्रका लोकप्रिय नेता मानिन्छन् ।

उनै तामाङका प्रतिस्पर्धी यसपटक डा. महत भएका हुन् । महतकै दाजु डा. रामशरणसँग तामाङ २०६४ र २०७० को संविधानसभा निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए । तर, पछिल्ला दुई निर्वाचनमा भने तामाङले जित निकाले ।

यसपटक उनीसँग प्रतिस्पर्धामा उत्रिएका प्रकाशशरण कहिल्यै प्रत्यक्ष निर्वाचन नजितेका नेता हुन् । यसअघि जतिपटक उनी संसद् पुगे, समानुपातिक सांसद भएर मात्रै हो । उनले अहिलेसम्म प्रत्यक्ष चुनाव जितेकाे रेकर्ड छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *