काठमाडौं-५ मा राजनीतिका अनुभवी हस्तीलाई युवा उम्मेदवारले दिँदैछन् चुनौती
काठमाडौं। पुराना पार्टीले अघि सारेका ‘हेभिवेट’ उम्मेदवारका विरूद्ध नयाँ पार्टीका युवा प्रतिस्पर्धामा उत्रिने भएपछि काठमाडौं-५को चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा यहाँ एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र राप्रपाका कमल थापा उम्मेदवार बनाउँदा उनीहरूलाई चुनौती दिन रास्वपाले जेन-जी उमेर समूहका सस्मित पोखरेललाई उम्मेदवार बनाएको छ । देशभरिमा दुई मात्रै प्रत्यक्ष उम्मेदवारी दिएको गतिशील लोकतान्त्रिक पार्टीले नायिका निशा अधिकारीलाई अघि सारेको छ ।
यो पटक काठमाडौं–५ मा मुख्य प्रतिष्पर्धा नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेल र नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलबीच हुने देखिएको छ।
नेपाली कांग्रेसका पौडेल हालै सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका हुन् । २०६२-६३ को जनआन्दोलनका क्रममा नेविसंघबाट सक्रिय भूमिका खेलेका पौडेल गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेताहरूसँगै राजनीतिमा उदाएका पात्र हुन् ।
नेविसंघको राजनीतिमा गगन थापाभन्दा सिनियर भए पनि पछिल्लो समय उनी गगनलाई आफ्नो नेता मानेर कांग्रेसको राजनीति गरिरहेका छन् । कांग्रेसका युवा नेताका रुपमा चिनिएका पौडेल जेन-जी आन्दोलन हुँदासम्म केपी शर्मा ओली सरकारमा स्वास्थ्यमन्त्री थिए । युवा नेताको पहिचानका बावजुद पनि सरकारमा सहभागी भएको हुनाले उनले जेन-जी आन्दोलनमा भएको दमनबारे प्रश्नको सामना गर्नुपर्ने हुन सक्छ ।
२०७९ को निर्वाचनमा पौडेलले यही क्षेत्रबाट एमाले नेता पोखरेललाई हराएका थिए । यसअघि २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने पोखरेल यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी यसपटक संसदमा पुनारागमनको प्रयासमा हुनेछन् ।
एमाले पूर्ववरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री पोखरेल पनि लामो संसदीय अनुभव बोकेका नेता हुन् । २०४८ सालदेखि भएका अधिकांश संसदीय निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेका पोखरेल पटकपटक मन्त्री भइसकेका व्यक्ति हुन् ।
२०६१ सालमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको समयमा गठन गरिएको शाही आयोगले उनीमाथि पानी ट्यांकीमा पैसा लुकाएको भन्दै छानबिन अघि बढाएको थियो । तर, पछि शाही आयोग नै अवैधानिक भन्दै खारेज भएपछि यो मुद्धा अघि बढेन । कोभिड महामारीको समयमा उनी रक्षामन्त्री थिए । यतिबेला चीनबाट सेनाले खरिद गर्ने स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै उनको नाम पनि जोडिएको थियो ।
जेन-जी आन्दोलनपछि एक वर्ष अगाडि नै भएको एमाले महाधिवेशनमा पोखरेलले एमालेको अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिए । एमालेको सांगठनिक मत राम्रै भए पनि २०७९को निर्वाचनमा नै पराजति भएका पोखरेललाई युवा उम्मेदवारलाई पन्छाएर जित हासिल गर्न सहज हुने देखिँदैन ।
राप्रपाका कमल थापा संसदीय राजनीतिका चतुर खेलाडी मानिन्छन्। निरन्तर चुनाव हारे पनि मन्त्री पदमा पुग्न सिपालु थापालाई कुनै समय ‘संसदीय राजनीतिका मुसा’ उपनाम दिइएको थियो । पञ्चायतकालको अन्तिम कालखण्डमा युवा राज्यमन्त्री भएर सत्ताको भर्याङ चढ्न थालेका थापा बहुदलमा पनि चाँडै फिट भइहाले । पूर्वपञ्चहरूले खोलेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उनी २०५२ को शेरबहादुर देउवा सरकारमा फेरि मन्त्री भएका थिए । यसपछि पार्टी फुटाएरै भए पनि उनी मन्त्री भएको चर्चा छ । उनी लगभग एक दर्जनपटक मन्त्री भइसकेका छन् ।
थापाले २०४८ सालयताका सबै सातवटा संसदीय निर्वाचन लडेका छन्, तर २०५१ को मध्यावधिबाहेक अरु सबै ६ वटा निर्वाचन हारे । आफूलाई कट्टर राजावादी दाबी गर्ने उनी गत निर्वाचनमा कट्टर कम्युनिष्ट बताउने एमालेको चिह्न ‘सूर्य’ बाट चुनाव लड्दा पनि पराजित भए। त्यतिबेला उनी आफ्नै राजनैतिक चेला, राप्रपाका उम्मेदवार दीपककुमार सिंहसँग पराजित भए।
यसअघि गृहजिल्ला मकवानपुरलाई आफ्नो क्षेत्र बनाउँदै आएका थापा यसपटक काठमाडौं सरूवा भएका हुन् । ६ वटा चुनाव हारेका उनका लागि प्रदीप पौडेल, ईश्वर पोखरेलजस्ता जनाधार भएका पार्टीका हस्ती र सस्मित पोखरेलजस्ता युवा उम्मेदवारसँगको भिडन्त फलामे चिउरा चपाउनु बराबर छ । यसअघि पार्टी फुटाएकाले असन्तुष्ट भएका राप्रपाकै मतदातालाई पनि रिझाउनुपर्ने चुनौती उनलाई छ ।
मुख्य दुई दलसँगै अन्य दलका उम्मेदवारहरूले पनि प्रतिस्पर्धालाई त्रिकोणात्मक बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सस्मित पोखरेल उम्मेदवार बनेका छन्। काठमाडौं–५ मै जन्मिएर विद्यालय तहको शिक्षा पूरा गरेका उनी स्थानीय समुदायसँग गहिरो सम्बन्ध राख्ने युवा नेता हुन्। उनी पहिलोपटक संसदीय चुनावमा होमिएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको सचिवलायमा काम गरेका उनी बालेनका रणनीतिक सल्लाहकारसमेत थिए । प्रविधि र सामाजिक सञ्जालमा पोख्त सस्मितले २०७९ को स्थानीय तह निर्वाचनमा शाहको चुनावी अभियानमा काम गर्दाको अनुभवलाई यसपटक आफ्नै संसदीय यात्राका लागि प्रयोग गर्नेछन् ।
सांगठानिक र राजनीतिक अनुभव नभएका पोखरेल रास्वपाको पक्षमा देखिएको जनलहर र युवा अनुहारकै बलमा राजनीतिका तीन हस्तिलाई पछार्ने दाउमा छन् ।
त्यस्तै, वीरेन्द्रबहादुर बस्नेत संरक्षक रहेको गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले नायिका निशा अधिकारीलाई उम्मेदवार बनाएको छ। देशभरिमा दुई मात्रै उम्मेदवार उठाएको गतिशील लोकतान्त्रिक पार्टीले नायिका अधिकारीका लागि काठमाडौं ५ छानेको हो । ३० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी अधिकारीले राजनीतिमार्फत आगामी १० वर्ष देशका लागि सेवा गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएकी छन्।
नेकपाबाट युवा नेता कल्पना शर्मा उम्मेदवार बनेकी छन्, जो तत्कालीन विद्रोही माओवादी पृष्ठभूमिबाट राजनीतिमा स्थापित भएकी हुन्।
यसरी, पुराना र नयाँ अनुहारहरूको रोचक भिडन्त बनेको काठमाडौं–५ मा कसले बाजी मार्ला ? यसको उत्तरको लागि फागुन २१ लाई पर्खिनैपर्छ ।
