बाल सुधारगृहमा झडप र आगजनी : १३ जना घाइते, १६० बढी स्थानान्तरण
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृहमा बिहीबार राति दुई समूहबीच भएको झडपले उग्ररूप लिँदा आगजनी र तोडफोड समेत भएको छ । घटनामा परेर १३ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । झडपपछि सुधारगृहमा रहेका १६० भन्दा बढी बालबालिकालाई अन्यत्र स्थानान्तरण गरिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी प्रकाश जगेबुका अनुसार सुधार गृहभित्र रहेका दुई पक्षबीच लामो समयदेखि एक–अर्कालाई हेप्ने र कुटपिट गर्ने क्रम चलेपछि झडप सुरु भएको हो । झडपका क्रममा सुधारगृहभित्र आगजनी हुँदा भवनमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
मध्यराति झडपको सूचना पाए लगत्तै थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गानाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । तर स्थिति नियन्त्रणमा लिन सुधारगृहभित्र प्रवेश गर्ने प्रयास गर्दा झडपमा संलग्न समूहहरूले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि अवस्था थप तनावग्रस्त बनेको थियो । ‘घाइतेको उद्दार गर्न प्रहरी भित्र पस्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भयो, त्यसपछि सुधारगृहभित्र नै आगो लगाइयो,’ जिल्ला प्रहरी परिसरका एक अधिकृतले बताए ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि सशस्त्र प्रहरी बलका करिब ५० जना परिचालन गरिएको थियो । भक्तपुर र काठमाडौंका वारुणयन्त्रहरू प्रयोग गरी मध्यरातमै आगो निभाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त बाल सुधारगृहमा पुरुष र महिला गरी करिब १६५ देखि १६९ जनासम्म रहेका थिए ।
आगजनीपछि भवन प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेकाले सबैलाई भक्तपुर र काठमाडौं जिल्ला प्रहरी परिसरअन्तर्गतका बाल सुधार निगरानी कक्षमा अस्थायी रूपमा स्थानान्तरण गरिएको डीएसपी जगेबुले जानकारी दिए । हाल सुधा रगृह क्षेत्र पूर्ण रूपमा प्रहरी नियन्त्रणमा रहेको छ । सम्भावित थप घटनालाई ध्यानमा राख्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी निरन्तर निगरानी भइरहेको छ । आगजनी र तोडफोडबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
