गुल्मी-१ मा भण्डारी र ज्ञवालीलाई चुनाैती दिन ढकाल र बरालको ‘इन्ट्री’
महाभिडन्त फागुन २१, गुल्मी – १
काठमाडौं। स्वच्छ छवि र सुसंस्कृत राजनीतिक आचरणका लागि चिनिएका प्रदीप ज्ञवाली र डा. चन्द्र भण्डारी आगामी निर्वाचनमा फेरि गुल्मी-१ मा आमनेसामने भएका छन्। अघिल्ला निर्वाचनहरूमा जस्तै यसपटक पनि ज्ञवाली नेकपा एमालेबाट र भण्डारी नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् ।
एक दशकदेखि गुल्मी–१ मा यी दुई नेताबीचको चुनावी प्रतिस्पर्धा राजनीतिक लडाइँ मात्रै नभएर राजनीतिक संस्कार, सहिष्णुता र परिपक्वताको प्रतीकका रूपमा पनि हेरिँदै आएको छ । कडा प्रतिस्पर्धासहितको चुनावपछि हार/जितलाई सहज रूपमा स्वीकार गर्दै एकअर्कालाई बधाई दिने उनीहरूको शैली नेपाली राजनीतिमा विरलै देखिने दृश्य हो।
गत निर्वाचनमा पनि नतिजा सार्वजनिक भएपछि दुवै नेताले एकअर्कालाई अङ्कमाल गर्दै बधाई दिएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
यसपटकको चुनावलाई थप रोचक बनाउने अर्को कारण भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट युवा नेता सागर ढकालको उम्मेदवारी पनि हो। ढकाल गुल्मी–१ बाट पहिलोपटक चुनावी प्रतिस्पर्धा गर्दै अनुभवी नेता ज्ञवाली र भण्डारीलाई चुनौती दिन लागेका नेता हुन् ।
उनी यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति तथा पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवासँग उनकै गृहजिल्ला डडेल्धुरामा प्रतिस्पर्धा गरेर चर्चामा आएका थिए । पहिलोपटक चुनाव लड्न डडेल्धुरा पुगेका ढकालले त्यहाँ १३ हजार ४२ मत प्राप्त गरे ।
आफूलाई स्वतन्त्र नागरिकको प्रतिनिधि बताउँदै आएका ढकाल हालै (जेन-जी आन्दोलनपछि) राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका हुन्। पेशाले इन्जिनियर उनी ‘साझा सवाल’ कार्यक्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई गरेको तीखो प्रश्नका कारण राष्ट्रियस्तरमा चिनिएका थिए। सिंगापुरका संस्थापक नेता लि क्वान युको उदाहरण दिँदै उनले देउवाको नेतृत्व क्षमतामाथि प्रश्न उठाएपछि युवामाझ झन् चर्चाको पात्र बनेका थिए ।
गुल्मी–१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट युवा नेता सुदर्शन बराल पनि चुनावी मैदानमा छन्। बराललाई पनि स्वच्छ छवि भएका नेताका रूपमा लिइन्छ। उनले २०६४ सालको पहिलो संविधानसभा निर्वाचन यही क्षेत्रबाट जितेका थिए। बराल पनि २०५१ देखि २०६१ सम्म चलेको दश वर्षे माओवादी सशस्त्र विद्रोहबाट राजनीतिमा स्थापित नेता हुन् । उनी तत्कालीन नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष पनि हुन्।
यसपटक गुल्मी–१ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी जम्मा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
पछिल्ला दुई निर्वाचन
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा डा. चन्द्र भण्डारी प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गर्दै संसदमा प्रवेश गरेका थिए। भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गर्दा ज्ञवाली पराजित भए ।
त्यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने प्रदीप ज्ञवालीले चन्द्र भण्डारीलाई पराजित गरेका थिए। उक्त निर्वाचनमा ज्ञवालीले ३७ हजार ८ सय १४ मत प्राप्त गर्दा भण्डारीले ३० हजार २ सय ५६ मत प्राप्त गरे । यसरी पछिल्ला दुई निर्वाचनमा दुवै नेताले एक/एक पटक जित हासिल गरेका छन्, जसकारण तेस्रो प्रतिस्पर्धालाई निर्णायक लडाइँका रूपमा हेरिएको छ।
राष्ट्रिय राजनीतिमा दुवै नेता परिचित अनुहार हुन्। भण्डारी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन् भने ज्ञवाली नेकपा एमालेका प्रभावशाली नेता मानिन्छन्। ज्ञवाली यसअघि मन्त्रीसमेत भइसकेका छन् भने भण्डारी एकपटक प्रतिनिधिसभा सदस्य बनेका छन्। यसपटक ज्ञवाली गुल्मी–१ मा पुनरागमनको प्रयासमा छन् भने भण्डारी आफ्नो संसदीय यात्रा दोहोर्याउन चाहन्छन्। उता, युवा पुस्ताको प्रतिनिधित्व गर्ने दाबी गरेका सागर ढकाल पहिलोपटक संसद छिर्ने लक्ष्यका साथ मैदानमा छन्।
गुल्मी–१ को चुनावी इतिहास
गुल्मी–१ को चुनावी इतिहास हेर्दा २०४८ यता भएका सातवटा संसदीय निर्वाचनमध्ये नेकपा एमाले र नेपाली कांग्रेसले समान तीन–तीन पटक जित हात पारेका छन् भने एकपटक माओवादीले जितेको छ। २०४८ मा कांग्रेसका झंकरबहादुर पुन विजयी भएका थिए। २०५१ को मध्यावधि निर्वाचनमा एमालेका रामनाथ ढकालले चुनाव जिते । २०५६ मा पनि एमालेकै फटिकबहादुर थापाले जितेका थिए ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका सुदर्शन बराल विजयी भए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने कांग्रेसका कृष्णबहादुर छन्त्याल थापा निर्वाचित भए। उनले एमालेकी मैनाकुमारी भण्डारीलाई १५९ मतान्तरले पराजित गरेका थिए। यसरी, भण्डारी र ज्ञवालीको १-१ को प्रतिष्पर्धामा ढकाल र बरालको ‘इन्ट्री’ भएसँगै गुल्मीको चुनावी राजनैतिक सरगर्मी तातिँदै गएको छ। २१ जनाकाे उम्मेदवारी परेको गुल्मी-१ को ‘विधायक’ को ? पर्खिउँ फागुन २१ लाई।
