`

गोरखा–२ मा बाबुरामको तालमेल प्रयास असफल, लेखनाथ भन्छन्, ‘अब पछि हट्ने ठाउँ छैन’

Nepal One HD ९ माघ २०८२ १२:३५
निर्वाचन विषेश

गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर–२ मा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई सघाउन आग्रह गरे पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार लेखनाथ न्यौपानेले स्पष्ट रूपमा अस्वीकार गरेका छन् । निर्वाचन प्रक्रिया निकै अघि बढिसकेको भन्दै न्यौपानेले कुनै पनि हालतमा पछि नहट्ने अडान लिएका हुन् ।

शुक्रबार बिहान डा. भट्टराईले फोनमार्फत न्यौपानेलाई सम्पर्क गरी गोरखा–२ मा तालमेल गरेर आफूलाई सघाउन प्रस्ताव गरेका थिए । तर निर्वाचन क्षेत्रमा सक्रिय रूपमा खटिरहेका न्यौपानेले उक्त प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।न्यौपानेले भने, ‘उहाँले मलाई सघाउन आग्रह गर्नुभयो तर मैले अहिले सम्भव छैन भनेर स्पष्ट जवाफ दिएँ । म धेरै अगाडि बढिसकेको छु, यहाँ ठूलो कार्यकर्तापंक्ति सक्रिय भइसकेको छ ।’

उम्मेदवारीअघि नै भएको थियो छलफल
न्यौपानेका अनुसार उनी उम्मेदवार बन्नुअघि नै बाबुराम भट्टराईसँग विस्तृत छलफल भएको थियो । त्यसक्रममा उनले भट्टराईलाई आफू उम्मेदवार बन्ने वा नबन्ने विषयमा स्पष्ट धारणा दिन आग्रह गरेका थिए । ‘मैले दाइलाई प्रष्टै भनेको थिएँ—तपाईं उम्मेदवार बन्नु हुन्छ भने म सोच बदल्छु, नत्र म अघि बढ्छु’, न्यौपानेले भने, ‘त्यतिबेला उहाँले ‘अब युवा पुस्ता अघि बढ्नु पर्छ, मेरो समर्थन तिमीलाई हुन्छ’ भन्नुभयो । त्यसपछि म तयारीमा लागेँ, पार्टीले टिकट दियो, मनोनयन दर्ता भयो।’
उनका अनुसार अहिले आएर समर्थन माग्नु राजनीतिक रूपमा पनि र व्यवहारिक रूपमा पनि उपयुक्त नभएको बताए । ‘अब यो व्यक्तिगत निर्णयको कुरा रहेन’, उनले भने, ‘यति धेरै कार्यकर्ता, संगठन र अभियान अघि बढिसकेको अवस्थामा पछि हट्नु पार्टीकै लागि हानिकारक हुन्छ ।’

प्रचण्डसँग पनि बाबुरामको भेटवार्ता
निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न डा. भट्टराईले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत भेटघाट गरेका छन् । शुक्रबार बिहान काठमाडौंमा भएको भेटमा भट्टराईले लेखनाथ न्यौपानेलाई पछि हटाएर आफूलाई सघाउन अनुरोध गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार भट्टराईको प्रस्ताव थियो, ‘लेखनाथको उम्मेदवारी फिर्ता गराएर मलाई सहयोग गरिनु प¥यो ।’ तर यसबारे प्रचण्डले दिएको प्रतिक्रिया सार्वजनिक भइसकेको छैन । यता निर्वाचन क्षेत्रमा रहेका न्यौपानेले सुनाए, ‘अब म पछि फर्किने कुनै सम्भावना छैन । साथीहरू मसँग केन्द्रित हुँदै जानु भएको छ । यस अवस्थामा ब्याक हुनु भनेको पार्टीलाई नै कमजोर बनाउनु हो ।’

गोरखा–२ मा कडा प्रतिष्पर्धा

यस पटक गोरखा–२ मा प्रतिष्पर्धा बहुपक्षीय बनेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट डा. बाबुराम भट्टराई, नेकपाबाट लेखनाथ न्यौपाने, नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपा एमालेबाट चक्रे मिलन र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटी प्रतिष्पर्धामा छन् । बाबुराम भट्टराईले यसअघि २०६४, २०७० र २०७४ मा गोरखा–२ बाट निर्वाचन जितेका थिए । २०७९ मा भने उनले सो क्षेत्र प्रचण्डलाई छाडिदिएका थिए । यही क्षेत्रलाई आधार बनाएर नेकपाले यस पटक अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको हो ।

सर्वसम्मतको प्रयास जारी, प्रगति न्यून
डा. भट्टराईकी छोरी तथा नेतृ मानुषी यमी भट्टराईले बाबुरामलाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयास भइरहेको बताइन् । ‘उहाँ जस्तो राष्ट्रिय व्यक्तित्वलाई सर्वसम्मत बनाउनु पर्छ भन्ने प्रयासमा सबै पक्षसँग छलफल भइरहेको छ’, उनले भनिन्, ‘तर अहिलेसम्म ठोस प्रगति देखिएको छैन ।’ आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन भए पनि लेखनाथ न्यौपानेको अडानपछि गोरखा–२ मा तालमेलको सम्भावना कमजोर बन्दै गएको देखिन्छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *