बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
गोरखा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए । उनले फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरे ।
गोरखा–२ का जनता, नयाँ पुराना सबै राजनीतिक दलहरुको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताए । उनले अब संसद् बाहिर रहेर पनि जनताको आकांक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको सचिवालय स्रोतका अनुसार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहितले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेपछि फिर्ता लिने निर्णय भएको हो ।
गोरखा–२ बाट भट्टराई यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन् । ०७९ निर्वाचनमा भने भट्टराईले प्रचण्डलाई सहयोग गरेर आफू अब उम्मेदवारी नदिने बताउँदै आएका थिए । यसपटक पनि उनी चुनाव नलड्ने बताउँदै आएका थिए तर मनोनयनको दुई दिनअघि मात्रै निर्णय गरेर गोरखा पुगेका थिए । उनले आफूले उम्मेदवारी फिर्ता लिएर कसलाई समर्थन गर्ने भन्नेबारे भने खुलाएका छैनन् । यहाँ एमालेबाट चक्रे मिलन, कांग्रेसका प्रकाशचन्द्र दवाडी र रास्वपाबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी चुनावी मैदानमा छन् ।
