`

काठमाडौं -३ : अनुभवी फुयाँल र अर्याललाई घिसिङ, पाण्डे र लामाकाे कडा चुनौती

रामचन्द्र जाेशी ९ माघ २०८२ १८:४५
निर्वाचन विषेश

महाभिडन्त फागुन २१, काठमाडौं – ३

काठमाडौं । हालै राजनीतिमा प्रवेश गरेका कुलमान घिसिङ, काठमाडौँ महानगर प्रहरी बलका पूर्वप्रमुख राजुनाथ पाण्डे र बलियो जनाधार भएका रामेश्‍वर फुयाँल मैदानमा उत्रिएपछि काठमाडौं-३ को चुनावी प्रतिष्पर्धा रोचक हुने देखिएको छ। 

काठमाडौं–३ मा उज्यालो नेपाल पार्टी (उनेपा) बाट घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पाण्डे, नेकपा एमालेबाट फुयाँल, नेपाली कांग्रेसबाट रमेश अर्याल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट निरज लामा उम्मेदवार छन्।

उनेपाका अध्यक्ष कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्। उनको कार्यकालमा नेपालमा १८ घण्टा लामाे लोडसेडिङ अन्त्य भएको भन्दै उनी ‘सेलिब्रेटी’ भए । जेन-जी विद्राेहपछि बनेको अन्तरिम चुनावी सरकारमा उनी भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिचाइँ र शहरी विकास मन्त्रीसमेत बने। तर, चुनाव केन्द्रित राजनीतिमा सक्रिय हुन उनले मन्त्री बनेको ११५ दिनमै राजीनामा दिएका थिए।

अहिले उनी काठमाडौं–३ मा चुनावी प्रचारमा सक्रिय छन् र यो क्षेत्रमा प्रभावशाली उम्मेदवारका रूपमा देखिएका छन्।

यसअघि २०७९ को आमनिर्वाचनमा उनी माओवादी केन्द्रबाट चुनाव लड्ने चर्चासमेत चलेको थियो। माओवादी केन्द्रले आफ्नो प्रचार सामग्रीमा घिसिङको तस्बिर प्रयोग गरेको विषय पनि निकै चर्चामा आएको थियो।

रास्वपाबाट उम्मेदवार बनेका राजुनाथ पाण्डे पनि काठमाडौं–३ का चर्चित उम्मेदवारमध्ये एक हुन्। उनी काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ निकट व्यक्ति मानिन्छन्।

महानगरभित्र अवैध संरचना हटाउने अभियानमा उनले बालेनलाई साथ दिएको भन्दै चर्चामा आएका थिए। महानगर प्रहरी सेवाबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका पाण्डे फुटपाथ व्यवसायी र ठेलागाडा हटाउने अभियानमा संलग्‍न भएको भन्दै आलोचित पनि छन् । यद्यपि, उनी बालेन टिमको प्रतिनिधिका रूपमा रास्वपाका बलियो उम्मेदवार मानिएको छ।

नेकपा एमालेका उम्मेदवार रामेश्‍वर फुयाँल भने काठमाडौं-३ का रैथाने र अनुभवी नेता हुन्। स्थानीय जनजीवनसँग नजिक भएर काम गरेको छवि बनाएका फुयाँल एकपटक बागमती प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्रीसमेत भइसकेका छन्। एमालेको परम्परागत आधार क्षेत्र मानिने काठमाडौं–३ मा उनको संगठनात्मक पकड बलियो मानिन्छ। नयाँ र चर्चित अनुहारबीच उनलाई कडा प्रतिस्पर्धा गर्न सक्ने उम्मेदवारका रूपमा हेरिएकाे छ । 

फुयाँल २०६४ सालको संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट पराजित भएका थिए भने २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए।

नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्याल पनि कमजोर प्रतिस्पर्धी होइनन्। उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्‍वर नगरपालिका–६ मा वडाध्यक्ष जितेका थिए। युवा, स्वच्छ छवि र स्थानीय राजनीतिमा अनुभव भएका अर्यालले काठमाडौं–३ मा कडा प्रतिस्पर्धा गर्ने ठानिएकाे छ।

त्यस्तै, नेकपाबाट उम्मेदवार बनेका युवा नेता निरज लामा पनि काठमाडौं–३ का युवामाझ लोकप्रिय छन्। उनी तत्कालीन नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य थिए ।

काठमाडौँ–३ अन्तर्गत गोकर्णेश्‍व र नगरपालिका, कागेश्‍वरी मनोहरा नगरपालिकाका वडा नम्बर १, २ र ३ तथा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ पर्दछन्।

यस्तो छ, काठमाडौं-३ को इतिहास 

इतिहास हेर्दा काठमाडौं–३ एमालेको आधार क्षेत्र देखिन्छ। २०४८ यताका सातवटा संसदीय निर्वाचनमध्ये एमालेले पाँचपटक जित हासिल गरेको छ भने कांग्रेसले दुईपटक मात्रै जितेको छ।

२०४८ मा एमालेका पद्‍मरत्‍न तुलाधार विजयी भए भने २०५१ को मध्यावधि निर्वाचनमा मनमोहन अधिकारी निर्वाचित भए। २०५६ मा ईश्‍वर पोखरेलले विजय हासिल गरे। 

२०६४ मा कांग्रेसले विजय हासिल गरे पनि २०७० र २०७४ मा एमालेले पुनः जित निकालेको थियो। २०७९ को निर्वाचनमा भने कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए।

यसपटक कांग्रेस र एमालेका परम्परागत बलियो आधारसँगै उनेपा र रास्वपाका चर्चित अनुहार मैदानमा उत्रिएका छन्। काठमाडौं–३ मा कसले बाजी मार्ने हो भन्‍ने चासो उत्कर्षमा पुगेको छ। यसको फैसला भने २१ फागुनको मत परिणाम सार्वजनिक भएपछि मात्रै स्पष्ट हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *