नयाँ दलमाथि ओलीको कटाक्ष: ‘भोलि कहाँ जाने थाहा छैन’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूको भविष्य अनिश्चित रहेको टिप्पणी गरेका छन्। उनले ती दलहरूको राजनीतिक यात्रालाई ‘भोलि कहाँ जाने भन्ने नै थाहा नभएको’ भन्दै कटाक्ष गरे।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दिवंगत गायक नारायणगोपालको गीत स्मरण गरे। “सायद नारायणगोपालले गाउनुभएको होला- भोलि उठी कहाँ जाने केही थाहा छैन,” ओलीले भने, “उहाँहरू (नयाँ दल) हरूको यात्रा पनि त्यस्तै हो।”
अध्यक्ष ओलीले नयाँ भनिएका दलका एक नेताको फेसबुक स्टाटसप्रति पनि आपत्ति जनाए। उक्त स्टाटसमा आफूलाई ‘माटोमुनि गाडिदिनुपर्छ’ भन्ने आशय व्यक्त गरिएको भन्दै उनले त्यसलाई गैरजिम्मेवार राजनीतिक सोचको उदाहरणका रूपमा प्रस्तुत गरे।
“कस्तो मति, कस्तो बुद्धि, कस्तो राजनीति हो- हामी विचार गर्न सक्छौं,” ओलीले भने।
उनले अहिले देश ‘बनाउने र जलाउने’ शक्तिहरूबीचको लडाइँ चलिरहेको दाबी गरे। “मान्छेलाई ज्युँदै गाडिदिने जस्ता कुरा लेखिनु दुःखद छ,” भन्दै उनले देश बनाउने पक्षमा उभिन सबैलाई आह्वान गरे।
ओलीको यो अभिव्यक्ति नयाँ राजनीतिक दलहरूको गतिविधि र सामाजिक सञ्जाललमा बढ्दो टिप्पणीका बीच आएको हो।
