`

प्रधानमन्त्रीकाे कार्ड बोकेर मधेसमा गगन, होला ‘फेस सेल’ ?

रामचन्द्र जाेशी १० माघ २०८२ १८:१९
निर्वाचन विषेश

काठमाडौं । भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै नेपाली कांग्रेसका सभापति गगन थापा मधेस झर्दैछन् ।

मधेसको सर्लाही–४ बाट उनले यसपटक प्रतिनिधिसभा निर्वाचन लड्दैछन् । ‘यो पटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएँ,’ शनिबार उनले काठमाडौंमा आयोजित एक कार्यक्रममा भने ।

उनी चारपटक संसद् पुगिसकेका नेता हुन् । पहिलो संविधानसभा समानुपातिक सांसद भएर संसद् पुगे । त्यसपछि २०७०, २०७४ र २०७९ मा प्रत्यक्षत चुनाव जिते ।

उनले लगातार चुनाव जितेको काठमाडौं– ४ हो, जुन निर्वाचन क्षेत्र यसपटक उनको छनोटमा परेन । अर्थात् काठमाडौं–४ वासीको जनप्रतिनिधि हुन यसपाली चाहेनन् ।

जोसँग १८ वर्षको संसदीय राजनीतिको अनुभव छ । उनले यसपटक किन मधेसको सर्लाही– ४ किने रोजे ? चासोपूर्वक हेरिएको छ । भन्‍न त उनले शनिबार भनेका छन्, ‘एकपटक मधेशको नेतृत्व गर्ने अनि बल्ल म देशको नेता बन्‍न सक्छु ।’

विशेष महाधिवेशन गरेर सभापति भएका गगनको यसपटक ‘फेस सेल’ हुन सक्छ । कांग्रेसमा मात्र होइन, अन्तरपार्टी पंक्तिमा पनि उनी लोकप्रिय नेता हुन् । भलै उनी आलोचनामुक्त छैनन् ।

तर, पनि समकालीन कांग्रेस नेतामा उनको सर्वाधिक लोकप्रिय अनुुहार हो । तिनै गगनले मधेसको जनमत प्राप्त गरेर संसद् आउन चाहे । राजनीतिक विश्लेषक डा. भेषराज घिमिरेका अनुसार मधेस एकताका कांग्रेसको उर्भर क्षेत्र हो ।

पछिल्ला निर्वाचनहरूको परिणामलाई आधार मान्दा यहाँ कांग्रेसको जनाधार खुम्चिँदै गएको छ । २०६२/०६३ को मधेस आन्दोलनपछि कांग्रेसको प्रभाव कमजोर हुँदै गयो ।

यस्तोमा गगन कांग्रेसको पुरानो विरासत फर्काउन मधेस गरेको हुन सक्ने डा. घिमिरेलाई लाग्छ । ‘कांग्रेसको परम्परागत जनाधार मधेश हो । त्यो गुम्दै गएको देखिन्छ,’ उनले नेपालवान एचडीसँग भने, ‘त्यो जनाधार कांग्रेसमा फर्काउने गगन जुक्ति हुन सक्छ ।’

मधेशमा प्रतिनिधिसभाको ३२ वटा निर्वाचन क्षेत्र छन् । गत सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेसको जनकपुरबाटै चुनावी सभा गर्‍यो । त्यहाँ रास्वपाबाट भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन)सहित पार्टी सभापति रवि लामिछानले सम्बोधन गरे । बालेन मधेसकै महोत्तरी पुर्ख्याैली थलो भएका युवा नेता हुन् ।

मधेसका कोही पनि नागरिक देशको प्रधानमन्त्री भएका छैनन् । सल्यानका मरिचमानसिंह श्रेष्ठ प्रधानमन्त्री भएबाहेक आदिवासी जनजाति पनि प्रधानमन्त्री भएका छैनन्, जसको हातमा सत्ताको कार्यकारी अधिकार सीमित छ ।

यस्तोमा भावी प्रधानमन्त्रीमा बालेनको अनुहार देखाएर रास्वपाले जनमत आकर्षण गर्न खोजेको छ । कांग्रेस सभापति गगनले त्यही जनमत आफू र कांग्रेसतिर फर्काउन मधेस झरेको विश्लेषण भइरहेको छ ।

उसो त काठमाडौं–४ मा गगन आलोचित थिए । उनको निर्वाचन क्षेत्रमा पर्ने कपनको ठाउँठाउँमा वर्षेनी डुबान हुन्छ । डुबान समस्याले कपनबासी वर्षायाममा पिरोलिन्छन् । भित्री सडकहरू कालोपत्रे नहुनु, सहरी क्षेत्र भए पनि पूर्वाधारका सुविधाहरू पर्याप्त नभएपछि उनीसँग कांग्रेसकै कतिपय मतदाताहरू असन्तुष्ट छन् ।

भनिन्छ, २०७९ को निर्वाचनमा उनमा हार्ने डर थियो । उनकै सल्लाहअनुसार रास्वपा सभापति रवि लामिछाने चितवन–२ झरेका थिए । उनलाई जितमा सहजताका लागि उनको क्षेत्रमा रास्वपाले उम्मेदवार उठाएको पनि थिएन ।

त्यसबेला गगन–रवि अघोषित चुनावी तालमेल भएको चर्चा फैलिएको थियो । तर, गगन र रविले यसबारे प्रतिक्रिया पनि जनाएनन् ।

तर, यसपटक त्यहाँ रास्वपाले पुकार बमलाई उम्मेदवार बनाएको छ । उनी २०७९ को निर्वाचनमा काठमाडौं–१ मा लडेका थिए । सामाजिक अभियन्ता हुँदै राजनीतिमा प्रवेश गरेका बम प्रभावशाली उम्मेदवारी हुन् ।

गगनका लागि एमाले उम्मेदवार डा. राजन भट्टराई मात्रै होइन, पुकार बलिया प्रतिस्पर्धी हुन सक्थे । पुकारले काट्ने सर्वाधिक मत कांग्रेस अर्थात् गगनकै हुन्थ्यो । यस्तोमा गगन सर्लाही–४ झरेका हुन् ।

विगतको चुनावी परिणामलाई हेर्दा यो क्षेत्रका मतदाताको मतदान प्रवृत्ति स्थिर देखिँदैन । चुनावी हुरीमा मतदाताको मतदान प्रवृत्ति निर्भर हुने देखिन्छ ।

जस्तो, २०६४ को पहिलो संविधानसभा निर्वाचनमा यहाँबाट तत्कालीन सद्‍भावना पार्टीका नेता राजेन्द्र महतो निर्वाचित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यहाँदेखि तराई मधेस सदभावना पार्टीका (हाल नेकपा)का नेता महेन्द्रराय यादव निर्वाचित भए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका डा. अमरेशकुमार सिंह निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा पनि स्वतन्त्रबाट सिंह नै निर्वाचित भए । यिनै चार चुनावी परिणामले भन्छ– यहाँ कुनै दलका स्थायी प्रकृतिका मतदाता छैनन् । यही बुझेर गगन सर्लाही–४ पुगेका हुन सक्ने डा. घिमिरे बताउँछन् ।

‘त्यहाँ कांग्रेसका वा मधेसकेन्द्रित दलका स्थायी प्रकृतिका मतदाता देखिँदैनन्, उनीहरू जता माहोल बन्छ, त्यतै मतदान गर्छन्,’ उनले भने, ‘त्यस्ता खालका मतदाताहरू नेता परीक्षण पनि गर्छन् । त्यो फाइदा लिन सकिन्छ भनेर पनि गगन त्यहाँ गएका हुन सक्छन् ।’

उसो त उनको प्रतिस्पर्धा कांग्रेस छाडेर स्वतन्त्र हुँदै हालै रास्वपा पुगेका डा. अमरेसकुमार सिंहसँग हुँदैछ । सिंहले आफूले गगनलाई पराजित गर्ने उम्मेदवारी दर्तापछि बताइसकेका छन् । ‘भगौडा उम्मेदवार मसँग प्रतिस्पर्धामा हार्छन्, उनको दाबी छ ।

परम्परागत चुनावी क्षेत्र छाडेर गएका गगन यदि पराजित भए उनको प्रधानमन्त्री हुने चाहना चकनाचुर हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *