सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक अहिले सिंहदरबारमा जारी छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षमा बसिरहेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, चार वटै सुरक्षा निकायका प्रमुखहरू लगायत सहभागी छन् । सिंहदरबारस्थित परिषद्को कार्यालयमा जारी बैठकमा चुनावी सुरक्षाको विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा तयारी र त्यसका योजनाबारे छलफल गर्न परिषदको बैठक बसिरहेको स्रोतले बतायो । निर्वाचनमा एक महिना अगावै नेपाली सेना परिचालन गर्ने पनि सरकारको तयारी छ । माघ २१ गतेदेखि नै सेनालाई परिचालन गर्ने सरकारको रणनीति छ । यसअघि मंसिर ४ गते पनि परिषदको बैठक बसेको थियो । उक्त बैठक पछि प्रारम्भिक चरणको सुरक्षा योजनाहरू बनाइएका थिए । यस बैठकपछि सोमबार नै दिउँसो साढे ३ बजे नियमित मन्त्रिपरिषदको बैठक बस्ने तयारी छ ।
