`

‘म स्टुडेन्ट हुँ’ भन्दा खुट्टामा गोली : देश बनाउने सपना बोकेकी एकताको पीडा

Nepal One HD १३ माघ २०८२ १०:४०
प्रमुख खबर

काठमाडौं । देशभर अहिले चुनावी माहोल छ । दल र उम्मेदवारहरु आआफ्नो रणनीति बनाउन व्यस्त छन् । आज १८ वर्ष पुगेकी भक्तपुरकी एकता साहलाई भने यस्ता कुराले छोएको छैन । भलै उनी जस्तै युवाले गर्दा आज ती व्यक्ति र दलले चुनावी तयारीमा जुट्ने अवसर पाएका हुन् । १२ कक्षा पढेर चिकित्सक बन्ने सपनामा अघि बढेको एकताको भाद्र २३ गते बानेश्वरमा भएको जेनजी प्रदर्शनका क्रममा खुट्टामा गोली लागेको थियो । अहिले उनी अलिअलि हिड्न सक्छिन् तर उनको खुट्टा सन्चो हुने नहुने यकिन छैन । अझै उनको खुट्टाको अपरेसन बाँकी छ ।

गोली लागेर घाइते भएकी एकतालाई भेट्न न त कुनै जेनजी अगुवा भन्ने पुगेका छन् न त प्रधानमन्त्री, सांसद बन्ने रेसमा रहेका नेता नै गएका छन् । सबैको एजेण्डा देश बनाउने छ । तर जसले देश साँच्चिकै बन्नु पर्छ भन्दा गोली खाइन् उनलाई कसैले सोध्न आएको छैन–तिम्रो स्वास्थ्य कस्तो छ ?

‘अब त टुपी कसेर पढ्ने हो–आइ लभ स्टडी –आइ क्यान डु डिस,’ एकता साहको कोठाभरी यस्तै सन्देश टाँसिएका छन् । पढ्न निकै रुचाउने उनले हातैले विभिन्न चित्रसहित शब्द कोरेर कोठा सजाएकी हुन् । तर, यही स्टडी रुममा एकता नपुगेको करिब ५ महिना हुन लाग्यो । कोठामा एकताका किताबहरु छरप्रष्ट छन् । भित्तामा गणितका फर्मुला र विज्ञानका महत्वपूर्ण कुरा स्टिकी नोटमा लेखेर टाँसिएको छ । विद्यार्थी हुँदा उनी जहिलै अब्बल । किताबी शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि उनको मन लाग्ने । त्यसैले कोठाभरी उनले पाएका पुरस्कार सजिएको छ । कोठामै झुण्डिएको छ उनी पढेको सैनिक आवासीय महाविद्यालयको क्यालेन्डर पनि । कक्षा १२ उत्तीर्ण भएर उनले ए प्लास ल्याएकी थिइन् । सोही क्यालेन्डरमा उनले त्यही पल सम्झिएर लेखेकी थिइन्–थ्यांक यु युनिभर्स !

अस्पतालको लामो बसाई पछि खुट्टामा चोट लिएर घर पुगे पनि उनमा छुट्टै आत्मविश्वास देखिन्छ अहिले पनि । त्यसैले त हिँड्न नसक्ने अवस्थामा पनि उनले मनोबल बढाइन्, चिकित्सक बन्न पार गर्नुपर्ने सीईई परीक्षामा सहभागी भइन् र नाम समेत निकालिन् । आमा बुनु शाहीले विज्ञान विषयका पुस्तक र नोट छोरीको खाटसँगै राखिदिएकी छन् । तर, एकतालाई अब पहिलाझैं ती किताबमा मन छैन । एकतालाई लाग्दो हो, ‘खै यो खुट्टा ठिक हुने हो कि होइन ।’

यस्तै प्रश्नले होला सायद एकताले तय गरेको शैक्षिक शिखर हासिल गर्न उनलाई अप्ठेरो लागिरहेको छ । तर, आमा बुनु भने छोरीको हिम्मत बनेर बसिरहेकी छन् । तत्कालीन सरकारले केही सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएसँगै सूचनाको सहारा बनेको थियो टिकटक । त्यही टिकटकमा भाद्र २३ गते बानेश्वरमा भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्ने सूचना फैलियो । टिकटकभर नेपोबेबी ट्रेन्ड थियो । तिनै भिडियोले एकतालाई पनि बानेश्वरमा हुने प्रदर्शनमा जाउँ जाउँ बनायो । भाद्र २३ गते बिहानै एकता कलेज ड्रेस लगाएर तयार भइन् । घरमै भएको हेल्मेट लगाइन् र पानीको बोटल बोकिन् ।
प्रविण रानाभाट / नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *