`

रोस्टरमै रोकिए भविष्यका सपना : कोरिया जान नपाएका युवाको माइतीघरमा आक्रोश

Nepal One HD १३ माघ २०८२ १२:५२
प्रमुख खबर

काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जाने सपना बोकेका तर वर्षौदेखि रोस्टरमै अल्झिएका युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा सूचीकृत भएका युवाहरू रोजगारदाताको छनोटमा नपरेपछि आन्दोलित बनेका हुन् ।

भाषा र सीप दुवै परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै उनीहरू विगत सात महिनादेखि निरन्तर आन्दोलनमा छन् । मंगलबार माइतीघरमा भेला भएका युवाहरूले रोस्टरको अवधि बढाउनु पर्ने, भाषा परीक्षा पास गरेपछि रोजगारीको सुनिश्चितता हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका थिए । यसअघि उनीहरूले ग्वार्कोस्थित ईपीएस कोरिया शाखा कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए ।

ईपीएस प्रणालीअनुसार भाषा तथा सीप परीक्षा पास गरेपछि मात्र कोरिया जाने बाटो खुल्दैन । रोस्टरमा नाम समावेश भएपछि कोरियाली रोजगारदाताले छनोट गरेपछि मात्र कामका लागि जान पाइन्छ । तर रोस्टरमा नाम दुई वर्षसम्म रहँदा पनि रोजगारदाताको छनोटमा नपरेमा उम्मेदवारको नाम स्वतः हटाइन्छ । त्यसपछि पुनः कोरिया जान चाहनेले फेरि भाषा परीक्षा दिएर सम्पूर्ण प्रक्रिया दोहोर्‍याउनु पर्ने बाध्यता छ ।

यही व्यवस्थाले आफूहरू अन्यायमा परेको प्रदर्शनकारी युवाहरूको गुनासो छ । विशेषगरी कृषि तथा पानीजहाज निर्माण (सिपबिल्डिङ) क्षेत्रमा आवेदन दिएका धेरै युवाहरू भाषा पास भएर पनि छनोटमा नपरेको उनीहरूको भनाइ छ । ‘भाषा पास गर्नु सजिलो छैन, लाखौं खर्च र वर्षौ मेहनतपछि पनि फेरि सुरुदेखि प्रक्रिया दोहोर्‍याउनु अन्याय हो’, एक आन्दोलनरत युवाले बताए।

दक्षिण कोरियाले सन् २००८ देखि ईपीएस प्रणालीमार्फत नेपालसहित विभिन्न देशबाट अदक्ष कामदार लैजाँदै आएको छ । हालसम्म यस प्रणालीमार्फत एक लाखभन्दा बढी नेपाली युवाहरू कोरिया पुगिसकेका छन् । सन् २०२५ का लागि कोरियाले उत्पादनमूलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय गरी करिब ५ हजार कोटा निर्धारण गरेको छ । तर उक्त कोटाका लागि एक लाखभन्दा बढी युवाहरूले आवेदन दिएका छन्, जसका विभिन्न चरणका परीक्षा सञ्चालन भइरहेका छन् ।

ईपीएस कोरिया शाखाका अनुसार हाल भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा मात्रै १२ हजारभन्दा बढी युवाको नाम रहेको छ । शाखाले रोस्टरमा रहेका युवाहरूले जुलुस, धर्ना र आन्दोलन जस्ता गतिविधि बढाउँदै जाँदा समग्र प्रक्रियामा नकारात्मक असर पर्ने भन्दै चिन्ता व्यक्त गरेको छ । यता आन्दोलनरत युवाहरू भने आफ्ना माग सम्बोधन नभएसम्म संघर्ष जारी रहने चेतावनी दिँदै आएका छन् । उनीहरूको मुख्य माग-रोस्टर अवधि विस्तार, भाषा पास गरेपछि रोजगारीको स्पष्ट सुनिश्चितता र लामो समय कुर्न बाध्य पार्ने प्रणालीमा सुधार—अहिलेसम्म सम्बोधन हुन सकेको छैन ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *