`

रोस्टरमै रोकिए भविष्यका सपना : कोरिया जान नपाएका युवाको माइतीघरमा आक्रोश

काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जाने सपना बोकेका तर वर्षौदेखि रोस्टरमै अल्झिएका युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा सूचीकृत भएका युवाहरू रोजगारदाताको छनोटमा नपरेपछि आन्दोलित बनेका हुन् ।

भाषा र सीप दुवै परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै उनीहरू विगत सात महिनादेखि निरन्तर आन्दोलनमा छन् । मंगलबार माइतीघरमा भेला भएका युवाहरूले रोस्टरको अवधि बढाउनु पर्ने, भाषा परीक्षा पास गरेपछि रोजगारीको सुनिश्चितता हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका थिए । यसअघि उनीहरूले ग्वार्कोस्थित ईपीएस कोरिया शाखा कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए ।

ईपीएस प्रणालीअनुसार भाषा तथा सीप परीक्षा पास गरेपछि मात्र कोरिया जाने बाटो खुल्दैन । रोस्टरमा नाम समावेश भएपछि कोरियाली रोजगारदाताले छनोट गरेपछि मात्र कामका लागि जान पाइन्छ । तर रोस्टरमा नाम दुई वर्षसम्म रहँदा पनि रोजगारदाताको छनोटमा नपरेमा उम्मेदवारको नाम स्वतः हटाइन्छ । त्यसपछि पुनः कोरिया जान चाहनेले फेरि भाषा परीक्षा दिएर सम्पूर्ण प्रक्रिया दोहोर्‍याउनु पर्ने बाध्यता छ ।

यही व्यवस्थाले आफूहरू अन्यायमा परेको प्रदर्शनकारी युवाहरूको गुनासो छ । विशेषगरी कृषि तथा पानीजहाज निर्माण (सिपबिल्डिङ) क्षेत्रमा आवेदन दिएका धेरै युवाहरू भाषा पास भएर पनि छनोटमा नपरेको उनीहरूको भनाइ छ । ‘भाषा पास गर्नु सजिलो छैन, लाखौं खर्च र वर्षौ मेहनतपछि पनि फेरि सुरुदेखि प्रक्रिया दोहोर्‍याउनु अन्याय हो’, एक आन्दोलनरत युवाले बताए।

दक्षिण कोरियाले सन् २००८ देखि ईपीएस प्रणालीमार्फत नेपालसहित विभिन्न देशबाट अदक्ष कामदार लैजाँदै आएको छ । हालसम्म यस प्रणालीमार्फत एक लाखभन्दा बढी नेपाली युवाहरू कोरिया पुगिसकेका छन् । सन् २०२५ का लागि कोरियाले उत्पादनमूलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय गरी करिब ५ हजार कोटा निर्धारण गरेको छ । तर उक्त कोटाका लागि एक लाखभन्दा बढी युवाहरूले आवेदन दिएका छन्, जसका विभिन्न चरणका परीक्षा सञ्चालन भइरहेका छन् ।

ईपीएस कोरिया शाखाका अनुसार हाल भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा मात्रै १२ हजारभन्दा बढी युवाको नाम रहेको छ । शाखाले रोस्टरमा रहेका युवाहरूले जुलुस, धर्ना र आन्दोलन जस्ता गतिविधि बढाउँदै जाँदा समग्र प्रक्रियामा नकारात्मक असर पर्ने भन्दै चिन्ता व्यक्त गरेको छ । यता आन्दोलनरत युवाहरू भने आफ्ना माग सम्बोधन नभएसम्म संघर्ष जारी रहने चेतावनी दिँदै आएका छन् । उनीहरूको मुख्य माग-रोस्टर अवधि विस्तार, भाषा पास गरेपछि रोजगारीको स्पष्ट सुनिश्चितता र लामो समय कुर्न बाध्य पार्ने प्रणालीमा सुधार—अहिलेसम्म सम्बोधन हुन सकेको छैन ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

 

दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री हानलाई २३ वर्षको जेल सजाय

सोल । दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री हान डक–सूलाई महाभियोग लागेका पूर्व राष्ट्रपति युन सुक–योलको विद्रोहमा सहयोग र दुरुत्साहन गरेको अभियोगमा बुधवार २३ वर्षको जेल सजाय सुनाइएको छ । सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले युनको मार्शल ल (सैनिक शासन) घोषणासँग सम्बन्धित विद्रोहका महत्वपूर्ण कार्यहरूमा संलग्न भएको र विद्रोहलाई बढावा दिएकोमा हानलाई उक्त सजाय सुनाएको हो ।

युनको विद्रोह र अन्य आरोपहरूको अनुसन्धान गर्ने स्वतन्त्र काउन्सिल चो युन–सुकको टोलीले १५ वर्षको जेल सजाय माग गरेको थियो । अदालतले सन् २०२४ डिसेम्बर ३ मा युनले घोषणा गरेको संकटकालीन मार्शल ल संवैधानिक व्यवस्थालाई उल्ट्याउने उद्देश्यले गरिएको विद्रोह भएको पुष्टि गरेको छ । हानले अवैध मन्त्रिपरिषद् बैठक बोलाएर अवैध मार्शल ललाई वैधताको प्रक्रियागत आवरण प्रदान गर्न मद्दत गरेको अदालतले औंल्याएको छ ।

यदि हानले प्रधानमन्त्रीको रूपमा आफ्नो कर्तव्य पूरा गरेको भए विद्रोह रोक्न सकिने उल्लेख गर्दै अदालतले उनले आफ्नो सुरक्षाका लागि मार्शल लसँग सम्बन्धित कागजातहरू लुकाएको र मार्शल ललाई कानुनी प्रक्रिया पछ्याएको जस्तो देखाउन कागजातहरू किर्ते गरी नष्ट गरेको ठहर गरेको छ । फैसला लगत्तै अदालतले प्रमाण नष्ट गर्ने जोखिम रहेको भन्दै हानलाई अदालतबाटै हिरासतमा लिन आदेश दिएको छ । युनको विद्रोह सम्बन्धी मुद्दाको पहिलो चरणको फैसला फेब्रुअरी १९ का लागि तय गरिएको छ ।

 

कोरिया जान नपाएकाहरुको पक्षमा मन्त्रालयले गर्‍यो यस्ता तीन निर्णय

काठमाडौं । सरकारले दक्षिण कोरिया जाने प्रयोजनका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका तर, विभिन्न कारणले हालसम्म अवसर नपाएका व्यक्तिको पक्षमा तीन वटा निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ईपीएस प्रणालीबाट कोरिया जान तयार गरिएको रोस्टरको हालको सीमाले रोजगारीका लागि कोरिया जान ईपीएस परीक्षा पास गरेका तर रोजगारी प्राप्त गर्न नसकेका उम्मेदवार समेत अवसरबाट वञ्चित भएकाले हालको प्रणालीमा देखिएको रोस्टर मान्य अवधि थप गर्ने विषयमा कोरिया सरकार समक्ष कूटनीतिक पहलमार्फत अनुरोध गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, ईपीएस प्रणाली अन्तर्गत कोरिया जाने रोस्टरमा रहेका व्यक्तिका मागलगायत ईपीएस प्रणाली अन्तर्गत नेपाली कामदारको कोरिया जाने कोटा वृद्धि गर्ने विषयमा आवश्यक कूटनीतिक पहल गर्ने र ईपीएस प्रणालीमार्फत कोरिया जाने रोस्टरमा रहेका व्यक्तिको व्यक्तिगत विवरण रोजगारदातासमक्ष पठाउने प्रक्रिया लगायतका विषयको पारदर्शीता र निष्पक्षता कायम गर्न आवश्यक सुझावसहित सिफारिस गर्न कार्यदल गठन गर्ने समेत निर्णय पनि भएको छ ।
यही पुस १८ गतेको मन्त्रिस्तरीय निर्णयलाई कार्यान्वयनमा लैजान पहल भइरहेको श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले बताए ।

 

 

 

ईपीएस भाषा परीक्षा आजदेखि

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाको भाषा परीक्षा आज (सोमबार) देखि सुरु हुँदैछ । पहिलो चरणमा सोमबार उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरुको परीक्षा हुन लागेको हो । उत्पादन क्षेत्रमा ६७ हजार जनाले भाषा परीक्षाको लागि आवेदन दिएका ईपीएस शाखाले जनाएको छ । सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जानको लागि एकलाख दुई हजार ५१५ परीक्षार्थीले आवेदन दिएका छन् ।

दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरुको परीक्षा हुने बताइएको छ । कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार जनाले आवेदन दिएका छन् । दक्षिण कोरिया जान रोस्टरमा रहेका युवाहरुले पहिला आफूहरूलाई कोरिया लैजानुपर्ने माग राख्दै परीक्षा नगर्न अनुरोध गर्दै आएका थिए । वैदेशिक रोजगार विभागको ईपीएस शाखाले आजदेखि सुरु भएको भाषा परीक्षा दुई महिनाभित्र सक्ने जनाएको छ ।

दक्षिण कोरियामा भेट्दै ट्रम्प र सी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज (बिहीबार) दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । भेटमा दुबै देशबीच व्यापार सम्झौताबारे नयाँ सहमतिको संकेत देखिएको बीबीसीले जनाएको छ । गएको महिनासम्म चलिरहेको व्यापार तनाबले दुबै देशको अर्थतन्त्रमा ठूलो असर पारेको थियो ।

ट्रम्पले चीनका सामानमा १० प्रतिशतबाट बढाउँदै १४५ प्रतिशतसम्म शुल्क लगाएका थिए । चीनले पनि अमेरिकी वस्तुमा १२५ प्रतिशतसम्मको प्रतिशोधी कर लगायो । गएको जुन महिनामा दुबै पक्षबीच अस्थायी युद्धविराम भयो । त्यसपछि वार्ता पुनः शुरू भई अहिले सम्भावित सम्झौतासम्म पुगेको खबरमा उल्लेख छ ।

अमेरिकाले चीनको प्रविधि पहुँचमा रोक लगाइरहेको छ भने चीनले दुर्लभ खनिज निर्यातमा कडाइ गर्दै दबाब बढाएको छ । यी खनिजहरू स्मार्टफोनदेखि सैनिक उपकरणसम्मका लागि जरुरी भएकाले अमेरिकालाई वैकल्पिक आपूर्ति खोज्न बाध्य बनाएको विश्लेषण भईरहेका छन् ।

पुटिनसँगको भेट रद्द गरेर ट्रम्पसँग छलफल गर्दै सी जिनपिङ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपतिसँग वार्ता हुने जनाएको हो । शिखर सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म चल्नेछ । सम्मेलन सुरु हुनु एक दिनअघि चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् ।

राष्ट्रपतिमा ट्रम्प दोस्रो पटक निर्वाचित भएपछि पहिलो पटक उनीहरुबीच भेटवार्ता हुन लागेको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका अधिकारीहरूका अनुसार, दुवै नेताबीचको वार्तामा व्यापार, ऊर्जा सहकार्य र युक्रेन युद्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।यता अमेरिकी राष्ट्रपति ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबिच हंगेरीको बुडापेस्टमा हुने भनिएको भेटवार्ता रद्द भएको छ ।

मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘म व्यर्थको बैठक गर्न चाहन्नँ । म समय बर्बाद गर्न चाहन्नँ, त्यसैले के हुन्छ, हेरौँला ।’ राष्ट्रपति पुटिनसँगको बैठक रद्द भएपछि अमेरिकाले रुसमाथि अर्को ठूलो आर्थिक प्रहार गरेको छ । ट्रम्प र पुटिनबीचको वार्ता रद्ध भएसँगै रुसले युक्रेनमा धेरै स्थानहरूमा ड्रोन र मिसाइलहरूले आक्रमण गरेको छ ।