डोटीमा नौं दलका नयाँ-पुराना अनुहारको रोचक भिडन्त
डोटी । पश्चिम नेपालको डोटी जिल्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ। डोटीको एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि नौ दलका उम्मेदवारले मनोनयन दर्ता गरेपछि चुनावी माहोल थप तातिएको हो।
यसअघि लगातार दुईपटक निर्वाचन जितेर डोटीको प्रतिनिधित्व गरेका प्रेम आले भने यसपटक स्थानीय चुनावी मैदानमा छैनन्। सुदूरपश्चिमको राजधानी दिपायल ल्याउने वाचा पूरा नगरेको आरोप खेप्दै आएका आलेले यसपालि आफ्नो क्षेत्र बदलेर कैलाली–५ बाट उम्मेदवारी दिए । डोटीमा उनले छाडेको ठाउँलाई नेकपाले सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री तथा केन्द्रीय सदस्य त्रिलोचन भट्टलाई अघि सारेर भरेको छ। माओवादी आन्दोलनबाट उठेका भट्ट यसअगाडिका प्रदेश नेतृत्वकै कारण स्थानीय तहमा चिरपरिचित मानिन्छन्।
त्यस्तै, नेकपा एमालेले आन्तरिक प्रतिस्पर्धालाई उछिन्दै अनेरास्ववियुका अध्यक्ष दीपक धामीलाई उम्मेदवार बनाएर नयाँ अनुहार प्रस्तुत गरेको छ। एमालेभित्र डोटीका लोकप्रिय नेतामा गनिने चक्र मल्लले टिकट पाउने चर्चा भए पनि अन्तिम घडीमा धामीको नाम टुंगो लगाइएको हो। पछिल्लो निर्वाचनमा कमजोर प्रदर्शन गरेका एमालेका लागि डोटीमा नयाँ पुस्ताको दाबी प्रभावकारी हुँदैन भन्ने बहस पनि भित्रभित्र चलिरहेको छ। नेपाली कांग्रेसले भने डोटीमा यसपटक अनुभवी नेतृत्वलाई अघि सारेको छ। पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसंविधानसभा सदस्य भरत खड्का उम्मेदवार बनेका छन्। दुई कार्यकाल प्रदेशसभा सदस्य भइसकेका खड्का हालै सम्पन्न विशेष महाधिवेशनमा सहमहामन्त्रीका दाबेदारसमेत थिए। उनी यसपटक संघीय संसद प्रवेशका लागि बलियो प्रतिस्पर्धी मानिन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेश कमिटीका उपसभापति नरेन्द्र खड्कालाई उम्मेदवार बनाएको छ। स्थापित दलहरूको वर्चस्व तोड्दै नयाँ विकल्पको खोजीमा रहेका मतदातालाई केन्द्रित गरिएको बताइन्छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट खडक बहादुर अग्रवाल, राष्ट्रिय जनमोर्चाबाट केन्द्रीय महासचिव मणिराज (मनोज) भट्ट, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट प्रकाश कठायत, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट खगेन्द्रबहादुर शाही र मितेरी पार्टी नेपालबाट सरस्वती कुमारी पाल (मल्ल) उम्मेदवार बनेका छन्।
डोटीमा २०४८ साल यताका सात संसदीय निर्वाचनमा नेपाली कांग्रेसले चारपटक विजय हात पारेको छ। एमालेले दुई, र एकीकृत समाजवादीले एकपटक प्रतिनिधित्व गरेको इतिहास छ। यसपटक भने पुराना, अनुभवी र नयाँ पुस्ताका नेताहरू एकैस्थानमा भिड्न लागेको चुनावलाई स्थानीयले ‘अझै प्रतिस्पर्धात्मक र अनिश्चित’ भएको बताइरहेका छन्। नयाँ अनुहारहरूको प्रवेश, पुराना नेताहरूको पुनरागमन र दलभित्रका समीकरणका कारण डोटीको यस वर्षको चुनावी प्रतिस्पर्धा प्रदेशकै ध्यान केन्द्रित गर्ने मुख्य क्षेत्र बन्न पुगेको छ।
