दलीय गढविहीन रामेछापमा नयाँ र पुराना दलबीच टक्कर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीको ‘इन्ट्री’पछि यसपटक रामेछापमा चुनावी भिडन्त रोचक हुने दखिएको छ ।
साढे तीन दशकको चुनावी परिणामले रामेछाप कम्युनिस्ट शक्तिको बढी प्रभाव भएको जिल्ला भए पनि कुनै एक दलको स्थायी गढ नबनेको हुँदा यसपटक नयाँ र पुराना दलहरूबीच प्रतिस्पर्धा हुने देखिएको हो ।
यसपटक नेपाली कांग्रेसबाट रामचन्द्र खड्का, नेकपा एमालेबाट नेता माधव ढुङ्गेल र नेकपाबाट पूर्वसांसद श्यामकुमार श्रेष्ठ उम्मेदवार छन् ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट दीपबहादुर योञ्जन उम्मेदवार बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. कृष्णहरि बुढाथोकी, राप्रपाबाट गोरे तामाङ, नेमकिपाबाट केशरी श्रेष्ठ र केही स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।
२०७९ को समानुपातिक मत परिणाम हेर्दा रामेछापमा त्रिकोणात्मक प्रतिस्पर्धा स्पष्ट देखिन्छ । एमालेले २८ हजार १५० मत ल्याएर पहिलो भयो । कांग्रेसले २४ हजार १०१ र
माओवादी केन्द्रले २१ हजार ०५४ मत पाए । प्रत्यक्षतर्फ भने कांग्रेसका पूर्णबहादुर तामाङ ४७ हजार ०९९ मतसहित विजयी भए ।
त्यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ६२३ मत पाएको थियो । अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता भएकाले कम्युनिस्ट मत थप सशक्त हुने आँकलन छ ।
२०७९ मा रामेछापमा १ लाख ८० हजार १०६ मतदाता थिए । पछिल्लो तीन वर्षमा ७ हजार ८४६ नयाँ मतदाता थपिएका छन् । तीमध्ये अधिकांश २०–२५ वर्ष उमेर समूहका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार नयाँ मतदाताले नै नतिजा उल्ट्याउन सक्छन् । नयाँ मतदाताले नयाँ दल र तिनका उम्मेदवार रोज्ने प्रवृत्ति कायम छ । त्यसो हुँदा यसपटक पुराना दलहरूका उम्मेदवारहरूलाई नरोजेर रास्वपा र उज्यालो नेपाल पार्टीका उम्मेदवारलाई कतै जिताउँदैनन् ? चासो छ ।
फेरि, यसपटक कांग्रेसभित्र टिकट वितरणलाई लिएर असन्तुष्टि छ । उम्मेदवार रामचन्द्र खड्काका लागि पार्टीभित्रकै असहयोग चुनावी चुनौती बन्न सक्ने देखिएको छ । यो चुनौती हुने खड्का बताउँछन् ।
एमालेका माधव ढुङ्गेल अघिल्लो समानुपातिक मतमा केही थपेर जित्ने दाबी गर्छन् । उनको दाबीमा आफूले जित्न धेरै मिहेनत गर्नुपदैन । उता, नेकपाका श्यामकुमार श्रेष्ठ तेस्रोपटक जित्ने आत्मविश्वासमा छन् । उनले २०७० को संविधानसभा निर्वाचन र २०७४ मा चुनाव जितेका थिए ।
उज्यालो नेपालका दीपबहादुर योञ्जन पनि यसपटक पुराना दलहरू किनारा लाग्दै बताउँछन् । उनले भ्रष्टाचार र कुशासनको मतियार पुराना दलहरू भएको भन्दै यसपटक मतदाताले नयाँ दल त्यसमा पनि उज्यालो नेपाल पार्टीका उम्मेदवार आफूलाई रोज्ने दाबी गरे ।
रास्वपा उम्मेदावर डा. कृष्णहरि बुढाथोकी यसपटक जित नयाँ दलको हुने बताउँछन् । आफूले परिवर्तनको एजेन्डा बोकेको र जनताले मन पराएको उनले बताए । रामेछापमा चुनावी माहोला आफ्नो पक्षमा बन्दै गएको पनि उनको दाबी छ ।
चुनावी मत विश्लेषकहरू भने समानुपातिकमा बलियो एमाले र प्रत्यक्षमा चुनाव जितेको कांग्रेस र नेकपाको संघर्षमा सबैभन्दा बढी नयाँ शक्तिले कति मत काट्छ ? रामेछापबाट चुनाव उसैले जित्ने विश्लेषण गर्दछन् ।
