रामेछापका ‘गणेशमान’ भन्दै रामचन्द्र खड्कालाई जिताउन विश्वप्रकाशको अपिल (भिडियोसहित)
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले रामेछापमा कांग्रेसले चुनाव जित्ने दाबी गरेका छन् ।
उनले उम्मेदवार रामचन्द्र खड्कालाई ‘रामेछापका गणेशमान’ भन्दै प्रशंसा मात्रै गरेनन्, खड्काले चुनाव जित्ने ठोकुवा नै गरे । खड्का बेदागी नेता भएको भन्दै आफूसहित सभापति गगन थापासम्मले उनीप्रति श्रद्धा गर्ने बताए ।
नीप्रति रामेछापका कांग्रेसी नेता कार्यकर्ताहरूले कुनै गुनासो नगर्न पनि शर्माले आग्रह गरे ।
‘हामी कसैले जितौँला आफ्नो ठाउँमा छ । जित्ने– हार्ने चलिरहन्छ । रामेछाप त हामी जित्दैछौँ,’ उनले भने, ‘गणेशमान भन्न मिल्ने व्यक्तित्व त्यो भूगोलको लागि । जिन्दगी यत्तिको उमेरमा आइपुग्दैगर्दा दाग नलागेको व्यक्तित्व, चाहे गगन थापाले होस् या मैले वा कसैले श्रद्धा गरेर रामचन्द्र दाइ भन्ने व्यक्तित्व, आज रामेछापका साथीहरूले उम्मेदवार पाउँदै गर्दाखेरी अलिकति कहीँ अलमल, मनका कहीँ गुनासो छ, दुःखेसो छ भने सबै तिलाञ्जली दिनुहोस् आज र जिताउनुहोस् ’
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा यसपटक कांग्रेसले नेता रामचन्द्र खड्कालाई उम्मेदवार बनाएको छ ।
उनीसँग प्रतिस्पर्धामा एमालेले नेता माधव ढुंगेल, नेकपाले पूर्वराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, रास्वपाले डा. कृष्णहरि बुढाथोकी र उज्यालो नेपाल पार्टीले दीपकुमार योञ्जनलाई उम्मेदवार बनाएर उतारेका छन् ।
