म सिंगो नेपालको हुन मधेश आएको हुँ – गगन थापा (भिडियोसहित)
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू चुनाव लड्ने ठाउँ कहीँ नपाएर सर्लाही–४ नआएको बताएका छन् ।
अघिल्लोपटक काठमाडौं–४ मा चुनावी प्रतिस्पर्धा गर्न गाह्रो भएको तर यसपटक सहज हुँदाहुँदै उनी सर्लाही–४ आएको बताए ।
‘म काठमाडौंमा तीनपटक निर्वाचित भएको सांसद हुँ । अघिल्लो निर्वाचन मलाई गाह्रो थियो । यो निर्वाचन बढो सजिलो निर्वाचन हो,’ उनले भने, ‘म सर्लाही नजाने बेलासम्म नेकपा एमालेको उम्मेदवार नै थिएन । राष्ट्रिय स्वतन्त्र पार्टीले सोही क्षेत्रको नपाएर बाहिरको ल्याएर उम्मेदवार बनायो ।’
उनले पहाड बुझेको र काठमाडौंमा जन्मिएर हुर्केको भन्दै मधेसको आफूलाई बनाउन नसकिए सिंगो देशको नहुने बताए । ‘म सिंगो नेपालको हुन आएको हुँ’, उनले भने ।
थापा कांग्रेसबाट भावी प्रधानमन्त्रीका घोषित उम्मेदवार हुन् । त्यसतर्फ संकेत गर्दै उनले सिंगो नेपालको आफू हुन मधेसमा निर्वाचन लड्न झरेको उल्लेख गरे ।
थापाले काठमाडौं–४ बाट २०७०, २०७४ र २०७९ मा चुनाव जितेका थिए । त्यसअघि २०६४ मा उनी कांग्रेसका समानुपातिक सभासद थिए ।
