गगनको ‘प्रियतावादी’ अभिव्यक्ति : पार्टीहरूले गठबन्धनको फोहोरी राजनीति नगरुन् भन्ने छ (भिडियो)
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी गठबन्धन गरेको नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अस्वाभाविक रूपमा गठबन्धनविरोधी अभिव्यक्ति दिएका छन् ।
विशेष महाधिवेशनबाट पार्टी सभापति भएपछि थापाले यही ११ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा एमाले र जसपासँगको गठबन्धनलाई निरन्तरता मात्रै दिएनन्, सबै उम्मेदवारलाई मत लगाउन लगाएर जिताए ।
गठबन्धन गरेर चुनाव लडेको साता दिन नबित्दै थापाले फेरि गठबन्धनविरोधी अभिव्यक्ति दिएका हुन् ।
उनले भने, ‘पार्टीहरूले फोहोरी गठबन्धनको राजनीति नगरुन् भन्ने छ । सरकारमा टिक्नका लागि नाजायज सम्बन्धहरू नगरुन् भन्ने छ,’ उनले भने, ‘पार्टीका नेताहरूको जीवन पारदर्शी बनियोस् भन्ने छ, पार्टीमा नेता र कार्यकर्ताको सम्बन्ध मालिक र श्रमिकको जस्तो नहोस् भन्ने छ ।’
सभापति थापा यसअघि तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रसँग चुनावी र सत्ता गठबन्धन गर्दा होस् या नेकपा एमालेसँग सत्ता गठबन्ध गर्दा सर्वाधिक विरोध गर्थे ।
तर, गत वर्ष भएको स्थानीय तह उपनिर्वाचनमा तत्कालीन माओवादीविरुद्ध गठबन्धन गर्दा होस् वा एक साताअघि एमाले र जसपासँग चुनावी गठबन्धन गर्दा मौन रहे ।
साता दिनपछि फेरि गठबन्धनको विरोध गर्दै थापाले ‘प्रियतावादी’ बन्ने प्रयास गरेका छन् ।
