`

कोल्टान खानी भत्किँदा कंगोमा २०० भन्दा बढीकाे मृत्यु

Nepal One HD १७ माघ २०८२ १६:०१
प्रमुख खबर

काठमाडौँ।  डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी क्षेत्र रुबायास्थित कोल्टान खानी भत्किँदा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।

एएफसी/एम२३ विद्रोही समूहको नियन्त्रणमा रहेको उक्त खानी क्षेत्रमा भएको पहिरोमा कामदार, महिला तथा बालबालिका परेका छन् । विद्रोहीले नियुक्त गरेका गभर्नरका प्रवक्ता लुमुम्बा कम्बेरे मुयिसाका अनुसार उत्खनन भइरहेको समयमा खानी भासिँदा ठूलो मानवीय क्षति भएको हो ।

‘यो पहिरोमा २०० भन्दा बढी मानिस परेका छन् । उत्खननमा संलग्न कामदार, बालबालिका र बजारमा रहेका महिलाको मृत्यु भएको छ । केही व्यक्ति गम्भीर घाइते छन्,’ मुयिसाले भने, ‘वर्षायामका कारण जमिन नरम थियो । खाल्डोभित्र मानिसहरू काम गरिरहेका बेला जमिन एक्कासि भासियो ।’

संयुक्त राष्ट्रसंघका अनुसार एएफसी/एम२३ समूहले यस क्षेत्रका प्राकृतिक स्रोतहरू कब्जा गरी विद्रोहका लागि कोष संकलन गर्दै आएको छ । उक्त समूहलाई छिमेकी मुलुक रूवान्डाको समर्थन रहेको आरोप लाग्दै आए पनि रूवान्डाले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

यी सशस्त्र विद्रोहीहरूले कंगो सरकारले टुट्सी अल्पसंख्यकमाथि दमन गरेको आरोप लगाउँदै आएका छन् । गत वर्ष उनीहरूले रूबाया क्षेत्र नियन्त्रणमा लिएका थिए ।

विश्वको करिब १५ प्रतिशत कोल्टान रुबाया क्षेत्रमा रहेको बताइन्छ । कोल्टान प्रशोधन गरेर ताप प्रतिरोधी धातु टान्टालम उत्पादन गरिन्छ, जसको प्रयोग मोबाइल फोन, कम्प्युटर, एरोस्पेस कम्पोनेन्ट तथा ग्यास टर्बाइन निर्माणमा गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *