`

‘चुनावपछि एमाले ठूलो दल बन्छ, समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पूरा गर्छ’ (भिडियो)

Nepal One HD १७ माघ २०८२ १६:०९
निर्वाचन विषेश

काठमाडौं । ओखलढुङ्गामा नेकपा एमालेको प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी अस्मिता थापाले आगामी २१ फागुनपछि एमाले देशकै ठूलो पार्टी बन्ने दाबी गरेकी छिन् । ठूलो दलको हैसियतमा सरकार गठन गरेर एमाले सुखी नेपाली समृद्ध नेपालको अभिभारा पूरा गर्न लाग्ने बताइन् ।

‘नेकपा एमालेले निर्वाचन स्वीकारेर जानु नै देश बचेको प्रमाणित भएको भन्न चाहन्छु,’ उनले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भनिन्, ‘अबको फागुन २१ गतेको निर्वाचनपछि नेकपा एमाले ठूलो दल बन्छ ।’

उनले नेपाललाई आफ्नो गोजीमा राख्न खोज्ने शक्ति राष्ट्रको इशारामा चल्नेहरूबाट जेन–जी विद्रोहको नाममा जलाएको भन्दै आक्रोश पोखिन् ।

रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह र नेता सुदन गुरुङको ‘पहिले गोली चलेको हो, पछि सिंहदरबार जलेको हो’ भन्ने अभिव्यक्तिलाई खण्डन गरिन् ।

‘पहिले मान्छे मारियो, पछि देश जलाइयो भन्ने भाष्य स्थापित गरिँदैछ तर देश जलाउने योजनाका लागि मान्छे मारिएको थियो । मान्छे मार्ने कुनै पनि शक्ति होइन,’ उनले भनिन्, ‘यो देशलाई आफ्नो पकेटमा राख्न खोज्ने, यो देशलाई आफ्नो फाइदाका लागि प्रयोग गर्न खोज्ने विभिन्न वैदेशिक इशाराहरू, विभिन्न वैदेशिक हस्तक्षेपहरू, बुझिनेगरी भन्दाखेरी भूराजनीतिको दबदबामा नेपाललाई राख्न प्रयास गर्ने शक्ति राष्ट्रहरूको ठूलो षड्यन्त्र देखिएको हो ।’

थापाले काठमाडौं उपत्यकामा रहेका ओखलढुंगावासीलाई निर्वाचनको पूर्वसन्ध्यामा सम्बोधन गर्दै समृद्ध ओखलढुंगाको सपना साकार पार्न मतदानको अपिल पनि गरेकी छिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *