सोलुवासीलाई संयोजक दाहालको आग्रहः असिम राईलाई विजयी गराएर पठाउनुस्, सोलुको विकास म गर्नेछु’
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले सोलुखुम्बु संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको जिल्ला भएकाले यहाँको निर्वाचन परिणामले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय महत्व राख्ने बताए ।
सोलु–काठमाडौं सम्पर्क समन्वय समितिले शनिवार काठमाडौंमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा संयोजक दाहालले सोलुखुम्बुमा कुन पार्टी र कुन नेताले जित्छ भन्ने कुरालाई संसारले चासोका साथ हेर्ने बताए । उहाँले सोलुखुम्बुका मतदातालाई नेकपा उम्मेदवार असिम राईलाई तारा चुनाव चिन्हमा अत्यधिक मतसहित विजयी गराउन आग्रह पनि गरे ।
उनले असिम राईलाई जिताएर पठाएमा सोलुखुम्बुको विकासका लागि आवश्यक सबै काम आफूले गर्ने दाबी गरे । सोलुखुम्बुको विकासका लागि सडक सञ्जाल विस्तार, पर्यटन प्रवद्र्धन, पर्वतारोहण व्यवस्थापन तथा अन्तर्राष्ट्रियस्तरमा ऊर्जा शक्तिको विकासलगायत क्षेत्रमा आफ्नो पूर्ण सहयोग रहने उनले प्रतिवद्धता जनाए ।
‘सोलुखुम्बु संसारको सबैभन्दा अग्लो शिखर सगरमाथाको काखको जिल्ला । संसारले हेर्छ, संसारले चिन्छ, सोलुमा कुन पार्टीले जित्यो ? कुन नेताले जित्यो भन्ने कुराको अर्थ राष्ट्रिय रुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि रहन्छ । तपाईहरुको जिम्मेवारी अरु क्षेत्रको जनता र उम्मेद्वारको भन्दा बढी छ । धेरै बढी छ, तपाईहरुले यो महशुस गर्नुभएको होला । तपाईहरु सवैले रेकर्ड बनाउने गरि असिम राईलाई तारा चुनाव चिन्हलाई अत्याधिक बहुमत दिएर विजयी गरेर पठाउनुस् । असिम राईलाई तपाईहरुले विजयी गरेर पठाएपछि असिम राईलाई के गनुपर्छ, म गर्नेछु । सोलुको विकासको निम्ति। तपाईहरुको विकास निर्माण सडक सञ्जालदेखि पर्यटनको विकासको निम्ति, पर्वतारोहणलाई व्यवस्थित गर्नेदेखि अन्तर्राष्ट्रिय रुपमा उर्जाशक्ति कसरी विकास गर्ने भन्नेदेखी तमाम कुराहरुमा मेरो साथ हुनेछ । तपाई असिमलाई जिताएर पठाउनुहोस्, सोलुलाई के गर्नुपर्छ म गर्नेछु ।’ उनले भने ।
उनले जेन–जी आन्दोलपछि एकताको आवश्यकता ठानेर वामपन्थी शक्तिहरुवीच एकताको कार्य अगाडी बढाएको जानकारी दिए । उनले नेकपामा विभिन्न २३ वटा घटक मिल्ने स्थितिमा पुगेको बताए ।
