संसद पुनर्स्थापनाको मुद्दामा छिटो फैसला गर्न ओलीको माग
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले फागुन २१ मा निर्वाचन हुने–नहुने विषय अझै अनिश्चित रहेको बताएका छन् ।
ओखलढुङ्गामा आयोजित एमालेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले उच्च पहाडी र हिमाली भेगमा जनसंख्या नै न्यून भएकाले त्यहाँ प्रभावकारी रूपमा मतदान हुन नसक्ने दाबी गरे । मान्छे नै नबस्ने ठाउँमा मतपेटिका राखेर चुनाव गर्नु नाटकजस्तै हुने उनको भनाइ थियो ।
‘हिमाली भेगमा मान्छे नै छैनन् । मान्छे नभएको ठाउँमा बाक्सा राखेर के अर्थ हुन्छ ? चार हजार जनसंख्या भएको ठाउँमा चार जनाले भोट हालेर के हुन्छ ? चुनाव भनेको नाटक मात्रै हुन्छ,’ उनले भने, ‘उच्च पहाडी र हिमाली क्षेत्रमा भोट हुने अवस्था नै छैन ।’
अध्यक्ष ओलीले भदौ २३ र २४ गते देशलाई गम्भीर संकटमा पार्ने उद्देश्यले अराजक गतिविधि गरिएको आरोपसमेत लगाए । असंवैधानिक सरकारले विघटन गरेको संसद्को विषयमा सर्वोच्च अदालत मौन बस्न नमिल्ने उनको भनाइ थियो ।
संसद् पुनर्स्थापनासम्बन्धी मुद्दामा छिटो फैसला दिन सर्वोच्च अदालतसँग माग गर्दै उनले अदालतले चुनाव गर्ने कि संसद् पुनर्स्थापना गर्ने भन्ने विषयमा स्पष्ट निर्णय दिनुपर्ने बताए ।
‘अदालतले तत्काल फैसला गर्नुपर्छ— चुनाव गर्ने कि संसद् पुनर्स्थापना गर्ने । हामी पुनर्स्थापनाको माग गरिरहेका छौँ, संविधान मिचिएको छ भनिरहेका छौँ । यदि संविधान मिचिएको छैन वा मिच्न पाइन्छ भने पनि अदालतले स्पष्ट भनेपछि हामी मान्छौँ,’ उनले भने ।
ओलीले अदालतले जे फैसला गरे पनि आफूहरूले स्वीकार गर्ने स्पष्ट गर्दै संवैधानिक संकटको अवस्थामा अदालत मौन बसिरहँदा त्यसको औचित्यमाथि नै प्रश्न उठ्ने चेतावनी दिए ।
