पाकिस्तानको बलुचिस्तानमा भीषण आक्रमणः १० सुरक्षाकर्मी र ३७ आतंककारीको मृत्यु
एजेन्सी- पाकिस्तानकाे बलुचिस्तानमा पृथकतावादी समूहको ठूलो आक्रमणलाई विफल पार्ने क्रममा १० सुरक्षाकर्मी र ३७ लडाकू मारिएका छन् ।
सुरक्षा बलले विगत ४८ घण्टामा उक्त क्षेत्रमा कुल ८८ आतंककारी मारिएको जानकारी दिएको छ । प्रतिवन्धित बलुचिस्तान लिबरेशन आर्मी’ले शनिवार बिहानै क्वेटा, नोस्की र ग्वादर जिल्लासहित एक दर्जनभन्दा बढी स्थानहरूमा एकैसाथ आक्रमण शुरु गरेको थियो । स्रोतकाअनुसार यी आक्रमणहरू विशेषगरी सुरक्षा निकायका प्रतिष्ठान र सरकारी लक्ष्यहरूमा केन्द्रित थिए ।
पाकिस्तानी सशस्त्र बल, फ्रन्टियर कोप्र्स र बलुचिस्तान प्रहरीले तत्काल जवाफी कारबाही गर्दै भीषण गोलाबारीपछि लडाकूहरूको योजना असफल तुल्याएको स्रोतले उल्लेख गरेको छ । यस हिंसात्मक भिडन्तमा कैयौँ सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षा स्रोतकाअनुसार पछिल्लो ४८ घण्टामा यस क्षेत्रमा जम्मा ८८ आतंककारीहरू मारिएका छन्।
हाल प्रभावित क्षेत्रहरूमा बाँकी रहेका लडाकूहरूको खोजी गर्न र सुरक्षा व्यवस्था दुरुस्त पार्न स्यानिटाइजेसन अपरेशन जारी राखिएको छ ।
