फागुन २१ पछिको संसद बैठक पुतली बगैँचास्थित निर्माणाधिन भवनमा बस्ने
काठमाडौं । आगामी २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधिन संसद भवनमै सञ्चालन हुने भएको छ ।
निर्वाचनपछिको संसद सञ्चालन गर्न सरकारले निर्माणाधिन संसद भवन उपलब्ध गराउने जानकारी गरिसकेको संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिए । आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गिरीले निर्माणाधिन संसद भवनका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने जानकारी गराएको बताए ।
उनकाअनुसार प्रतिनिधि सभा गठन भइसकेपछि राष्ट्रिय सभाको बैठक समेत सोही निर्माणाधिन संसद भवनबाटै सञ्चालन हुनेछ । प्रवक्ता गिरीले निर्माणाधिन संसद भवनको ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिसकेको भन्दै चैतसम्म बाँकी काम सम्पन्न गर्नेगरी सरकारसँग निरन्तर छलफल भइरहेको बताए । उनले निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सञ्चालनको लागि सचिवालयले अन्य कुनै विकल्प नहेरेको समेत बताए । उनले अत्याधुनिक प्रविधिसहित निर्वाचनपछिको संसद सञ्चालन गर्न आवश्यक तयारी भइरहेको समेत जानकारी दिए।
‘निर्वाचनपश्चात गठन हुने प्रतिनिधि सभाको बैठक कहाँ बस्छ भन्ने जिज्ञासा बारम्बार आउने गरेको छ , यस सम्बन्धमा सचिवालयले पनि नेपाल सरकारसँग छलफल गरिरहेकै अवस्था हो’,उनले भने ‘पछिल्लो छलफलअनुुसार नेपाल सरकारले जुन निर्माणाधिन संसद भवन छ त्यसमा १२ वटा भवन रहेका छन्, जसमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने अब गठन हुने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकसमेत निर्माणाधिन संसद भवनमै बस्ने जानकारी सरकारले गराएको छ।’
यसअघि संसद बैठक बस्दै आएको काठमाडौंको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन–जी आन्दोलनको क्रममा आन्दोलनकारीहरुले आगजनी गरेर ध्वस्त बनाएका थिए । उक्त भवनको पुर्ननिर्माण कार्य अझै सुरु भएको छैन । हाल राष्ट्रिय सभाको १९ औँ अधिवेशन सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन भइरहेको छ ।
