`

कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस् – गृहमन्त्री अर्याल

Nepal One HD १८ माघ २०८२ २२:०२
बिशेष

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको रोक्का तथा नियन्त्रणसम्बन्धी निर्णय र अदालतहरूबाट प्राप्त फैसलाका आधारमा जफत भएका सम्पत्ति तथा साधनको एकीकृत विवरणको प्रणाली यथाशीघ्र तयार गर्न निर्देशन दिनुभएको छ ।

कसुरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा रोक्का वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधनको व्यवस्थापन गर्ने÷गराउने जिम्मेवारी प्राप्त गरेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको अनुगमनका क्रममा आज उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

मन्त्री अर्यालले विभागको कार्यप्रगतिबारे जानकारी लिने क्रममा विभागमा विभिन्न निकायबाट प्राप्त हुन आउने कसुरजन्य सम्पत्तिलाई प्रविधिको प्रयोग गरी प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

गृहमन्त्री अर्यालसँगै गृह सचिव, मन्त्रालयका सुरक्षा तथा समन्वय शाखा प्रमुखलगायत उच्च अधिकारीसहितको टोली विभागमा पुग्नुभएको थियो । उहाँहरूलाई महानिर्देशक सुमन घिमिरेले विभागको कामकारबाही र प्रगतिबारे जानकारी गराउनुभयो ।

कसुरजन्य सम्पत्ति तथा साधन व्यवस्थापनसम्बन्धी मार्गदर्शन, २०८२ बमोजिम गठन हुने निर्देशक समितिको अध्यक्ष गृहमन्त्री हुने व्यवस्था छ ।

मन्त्री अर्यालले सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट नेपाललाई निकाल्ने सम्बन्धमा विभागको भूमिका महत्त्वपूर्ण हुने भन्दै विभागको कामलाई थप प्रभावकारी बनाउने सम्बन्धमा कार्ययोजना बनाई पेस गर्न निर्देशनसमेत दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *