रूसी सरकारद्वारा पत्रकारिता विकासमा २५० हजार डलर सहयोग
एजेन्सी । रूसी सरकारले पत्रकारिता विकास तथा पत्रकारहरूको सुरक्षाका लागि २५० हजार अमेरिकी डलर (करीव ३ करोड ३५ लाख नेपाली रुपैयाँभन्दा बढी) सहयोग उपलब्ध गराउने भएको छ । यो रकम संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) अन्तर्गतको अन्तर्राष्ट्रिय सञ्चार विकास कार्यक्रम (आईपीडीसी) मार्फत परिचालन हुनेछ ।
यो सहयोग मुख्य रूपमा अफ्रिकी देशहरू माली, मलावी, घाना, केन्या, सेनेगल र नेपालमा मिडिया सम्बन्धी परियोजनाहरू सञ्चालन गर्न प्रयोग गरिने बताइएको छ । परियोजनाहरू आगामी १८ महिनामा कार्यान्वयन हुने बताइएको छ । रूसी सहयोग विशेष गरी पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि, अनलाइन हिंसा न्युनिकरण तथा मिडिया तथा सूचना साक्षरता विकासमा केन्द्रित हुनेछ ।
नेपालले माग गरेको पत्रकारिता नैतिकता तालिम परियोजना पनि यसै अन्तर्गत समावेश गरिएको छ । रूसको युनेस्कोस्थित स्थायी मिसनमार्फत उपलब्ध गराइएको यो स्वेच्छिक योगदान रूसी सरकारको आदेशअनुसार दिइएको हो । रूसका युनेस्को प्रतिनिधि रिनात अलाउत्दिनोभले रूसी मिडियासँग कुरा गर्दै ग्लोवल साउथका देशहरूसँग सहकार्य गर्दै पत्रकार सुरक्षादेखि मिडिया विकाससम्म सहयोग गर्न रूस तयार रहेको बताए । उनले आईपीडीसीमार्फत उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्ने, पत्रकारहरूको अधिकारको वकालत गर्ने, उनीहरूको सुरक्षा सुनिश्चित गर्न माग गर्ने तथा मित्र राष्ट्रहरूलाई मिडिया विकासमा सहयोग गर्ने रूसको नीति रहेको उल्लेख गरे ।
रूसले अफ्रिकी देशहरूसँग ऐतिहासिक सम्बन्ध र अफ्रिकाको बढ्दो वैश्विक महत्वलाई ध्यानमा राख्दै यो क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिएको छ । यो योगदानले अफ्रिका तथा नेपालजस्ता विकासशील देशहरूमा मिडियाको सुदृढीकरणमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ ।
