`

पञ्चायतदेखि गणतन्त्रसम्म ९ पटक मन्त्री भएका कमल थापाको संसदमा आठाैं उम्मेदवारी (भिडियो)

रामचन्द्र जोशी २२ माघ २०८२ १६:४८
निर्वाचन विषेश

काठमाडौं । सात चुनावमा पाँच पटक हारेर दुई चोटी सांसद बन्दै नौ चोटी मन्त्री बनेका कमल थापा यसपटक काठमाडौं-५ बाट प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार बनेका छन् । यसअघि मकवानपुरबाट चुनाव लड्दै आएका थापालाई त्यहाँका जनताले नपत्याएपछि चुनावी क्षेत्रको खोजी गर्दै उनी यसपटक काठमाडौं-५ मा पुगे। 

चुनावमा पराजित भएर पनि कसरी मन्त्री बन्ने कुरा कसैले सिक्ने हो भने कमल थापाबाट सिके हुन्छ। थापा २०४८ यता भएका सातवटा संसदीय चुनावमध्ये ६ वटा चुनाव लडेर पाँचचोटी पराजित भएका छन्।  तर रोचक पक्ष के भने  पाँचचोटी पराजित भएर पनि उनी नौ चोटी मन्त्री भएका छन्। 

थापा आफुलाई कट्टर राजावादी करार गर्छन्, तर राजा फालेर ल्याईएको गणतन्त्रमा उनी सातचोटी मन्त्री बने। हुनसक्छ थापाका लागि राजसंस्थाको मुद्दाभन्दा बढी मन्त्री पद महत्वपुर्ण हो।   

सात चुनावमा पाँच पटक पराजित 

२०३६ को जनमत संग्रहको सेरोफेरोबाट राजनीति सुरु गरेका थापा तत्कालिन समयमा पञ्चायतका प्रवक्ता जस्तै मानिन्थे। उनका बुबा क्षेत्रबहादुर थापा तत्कालीन शाही सेनामा थिए। क्षेत्रबहादुर तत्कालीन राजा महेन्द्रका विश्वासपात्र थिए। त्यही लहरो र परिवारवादको टेको समातेर राजनीतिमा होमिएका उनी त्यसकै बलमा २०३७ सालमा पञ्चायती संविधान संशोधनका लागि बनेको मस्यौदा समितिको सदस्य पनि थिए। 

एक समय यस्तो थियो- जतिबेला मकवानपुरमा पञ्चायत भनेकै कमल थापा हो भन्ने बुझिन्थ्यो। यसै आधारशिलामा २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा उनी मकवानपुरबाट पहिलोपटक निर्वाचित भए।  

तत्कालीन पञ्चायती व्यवस्थाको खरो वकालतकर्ता भएकै कारण उनले २०४६ सालमा संचार राज्यमन्त्री उपहारस्वरुप पाए। 

सञ्चार राज्यमन्त्री रहँदा थापा २०४६/४७ को पञ्चायत विरुद्धको आन्दोलन दबाउन तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी र तत्कालिन गृहमन्त्री निरन्जन थापाको मुख्य सल्लाहकार रहेको पनि बताइने गरिन्छ। 

त्यसपछि २०४८ सालामा बहुदल स्थापनापछिको पहिलो आमनिर्वाचन भयो। थापा सुर्यबहादुर थापा नेतृत्वको राप्रपाबाट मकवानपुर-१ बाट चुनाव लडे। उनी त्यो निर्वाचनमा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भए। त्यसको तिन वर्षपछि भएको २०५१ को मध्यावधि निर्वाचनमा थापाले मकवानपुरका १ र २ गरी दुईवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिए। यसपटक भने १ मा उनले अघिल्लो निर्वाचनका प्रतिष्पर्धी कृष्णप्रसाद दाहाललाई पराजित गरे तर २ मा एमालेकै विरोध खतिवडासँग पराजित भए। यो नै थापाले जितेको एकमात्रै चुनाव हो। 

२०५६ को निर्वाचनमा मकवानपुरका १ र ३ दुवै निर्वाचन क्षेत्रमा एमालेका दाहाल र विरबहादुर लामासँग पराजित भएका थापा २०६४ को निर्वाचनमा मकवानपुर-३ मा नेकपा (माओवादी) का उम्मेदवार प्रह्लाद लामिछानेसँग पराजित भए। 

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा थापा समानुपातिक निर्वाचन प्रणाली मार्फत खुसुक्क संसद प्रवेश गरे। २०७४ को निर्वाचनमा फेरि मकवानपुर-१ बाट उम्मेदवार बनेका थापा पुराना एमाले प्रतिद्वन्द्वी दाहालसँग पराजित भए। 

२०५१ को मध्यावधि निर्वाचन बाहेक मकवानपुर-१ मा सधैं एमालेले जित्दै आएको क्षेत्र हो। तर, २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने पराजय बेहोर्यो । उम्मेदवार थिए- कमल थापा। यसअघि राप्रपाबाट चुनाव लडेर एमालेसँग पराजित हुँदै आएका थापा २०७९ को प्रतिनिधिसभामा भने एमालेको चुनाव चिन्ह सुर्य लिएर लड्दा राप्रपाको हलोसँग पराजित भए । गएको निर्वाचनमा थापालाई राप्रपाका दिपक कुमार सिंहले पराजित गरे। 

मतपेटिकामा पुछारमा, सत्ताभोगमा अग्रभागमा 

मतपेटिकामा सदैव पुच्छारमा रहने थापा सत्ताभोगमा भने अग्रभागमा रहे। जब मन्त्री हुने बेला आउछ तब थापा खालीपोष्टमा गरेजसरी अरुलाई जिल्ल पार्दै गोल गरिदिन्छन्। 

मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा थापाले २०४६ सालमा संचार राज्यमन्त्रीको रुपमा मन्त्री पदमा डेब्यु गरे। त्यसपछि २०५२ सालमा कांग्रेस नेता शेरबहादुर देउवा नेतृत्वको सरकारमा थापा  कानुन, न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्री बने। 

२०५३ मा देउवा सरकार ढल्यो। लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने। चन्द नेतृत्वको राप्रपा-एमाले सरकारमा कित्ता परिवर्तन गर्दै थापा आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री भए । लगत्तै चन्द सरकार पनि ढल्यो।  सुर्यबहादुर थापाको नेतृत्वमा राप्रपा-कांग्रेसको सरकार बन्यो। त्यो सरकारमा थापा कृषि तथा परराष्ट्र मन्त्री बने। थापा नेतृत्वको मन्त्रीमण्डल पुनर्गठन हुँदा उनले सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाए।

यो बेला कमल थापा ‘मुसा’ उपनामले चर्चित बनेका थिए।  तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछी चन्दले थापालाई ‘मुसा’ को संज्ञा दिएका थिए। थापाकै सक्रियतामा तत्कालीन एमाले समर्थित चन्द सरकार ढलेको थियो। सरकार ढल्ने सुइँको पाएपछि थापाले कित्ता परिवर्तन गर्दै सुर्यबहादुर थापाको खेमामा पुगेका थिए। यही सन्दर्भमा चन्दले ‘जहाज डुब्न लाग्यो भने सबैभन्दा पहिले मुसाहरू आफ्नो ज्यान जोगाउन समुद्रमा हाम्फाल्छन्, राप्रपामा पनि यस्ता केही मुसा छन्’ भन्दै थापालक्षित टिप्पणी गरेका थिए। 

 २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता कु गरे। शासन व्यवस्था सबै आफ्नो हातमा लिँदै आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरे। त्यो मन्त्रीमण्डलमा थापाले गृहमन्त्रीको जिम्मा पाए। ज्ञानेन्द्रले गरेको सत्ता कु का विरुद्ध २०६२/०६३ मा देशैभर जनआन्दोलन भयो। उक्त जनआन्दोलनमा गृहमन्त्रीका रुपमा थापाले ठूलो दमन गरेका थिए। 

सत्ता र कुर्सीको वरीपरी बसेर रमाइरहने थापाको मन्त्री बन्ने क्रममा गणतन्त्र घोषणा पछि भने ठुलै ब्रेक लाग्यो।  २०६४ सालको निर्वाचनमा पराजित भएपछी उनी आठ वर्ष मन्त्री नै बन्न पाएनन्। तर, चलाख थापाका लागि मन्त्री बन्न कुन चाहिँ गाह्रो काम ? २०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बन्दै २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा उप-प्रधानमन्त्रीसहित परराष्ट्र र स्थानीय विकासमन्त्री बन्दै कमब्याक गरे। 

त्यसपछि उनी तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उप-प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री बने भने शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उपप्रधानमन्त्री बने। 

राजतन्त्र होस्, या गणतन्त्र। ज्ञानेन्द्र हुन्, वा प्रचण्ड। थापा नेपाली राजनीतिका एकमात्रै त्यस्ता पात्र हुन्, जसले हरेक व्यवस्थाका हरेक शासकलाई मोहजालमा पारेजसरी चतुर खेल खेल्दै चुनाव हारेर पनि मन्त्री बनिरहे । पटकपटक मन्त्री बनेर मकवानपुरमा पाँच संसदीय चुनाव हारेका थापा यसपटक भने काठमाडौँ-५ मा प्रतिस्पर्धामा उत्रिएका छन् । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *