`

विश्वव्यापी साइबर अपराधविरुद्ध रणनीति बनाउन इन्टरपोल बैठक

Nepal One HD २० माघ २०८२ २१:१५
समाचार

काठमाडाैँ । इन्टरपोलको साइबर अपराध विज्ञ समूहको वार्षिक प्रत्यक्ष बैठक सोमबार हङकङमा सुरु भएको छ । दुई दिनसम्म चल्ने यस बैठकमा ३० भन्दा बढी देश तथा क्षेत्रबाट आएका १२० भन्दा बढी कानून कार्यान्वयन निकायका अधिकारी, उद्योग क्षेत्रका विज्ञ तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी छन् ।

हङकङ प्रहरी बल र इन्टरपोलको संयुक्त आयोजनामा सम्पन्न बैठकको विषय ‘साइबर अपराधको औद्योगिकीकरणलाई अवरुद्ध गर्ने’ रहेको छ । बैठकले विश्वव्यापी रूपमा बढ्दो साइबर अपराधको चुनौतीलाई सामूहिक प्रयासमार्फत सामना गर्ने उद्देश्य राखेको छ ।

उद्घाटन समारोहमा बोल्दै हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका प्रहरी आयुक्त चाउ यात–मिङले साइबर अपराध नियन्त्रणका लागि आधुनिक प्रविधिको विकास, सार्वजनिक–निजी साझेदारीको प्रवर्द्धन तथा विभिन्न सहकार्य प्लेटफर्ममार्फत सार्वजनिक सुरक्षा प्रणाली निर्माणमा हङकङ प्रहरी बल प्रतिबद्ध रहेको बताए ।

उनले साइबर अपराधविरुद्ध प्रभावकारी लडाइँका लागि सीमापार सहकार्य, बहु–क्षेत्रीय साझेदारी र निरन्तर क्षमतावृद्धि अत्यावश्यक रहेकोमा जोड दिए।

यस बैठकले अन्तर्राष्ट्रिय प्रहरी निकाय, शैक्षिक संस्था र उद्योग क्षेत्रलाई एउटै मञ्चमा ल्याई अनुभव आदान–प्रदान, सूचना साझेदारी तथा समन्वित कारबाहीमार्फत साइबर अपराधविरुद्ध ठोस परिणाम हासिल गर्ने लक्ष्य लिएको छ ।

इन्टरपोलका साइबर अपराध निर्देशक निल जेटनले हङकङ अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको महत्वपूर्ण केन्द्रका रूपमा सक्रिय रहेको उल्लेख गर्दै बैठकले साइबर अपराध नियन्त्रणका लागि व्यावहारिक समाधान र सामूहिक कार्यलाई अघि बढाउने विश्वास व्यक्त गरे।

बैठकमा साइबर अपराध इकोसिस्टम, अनलाइन जबरजस्ती असुली, कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भर्चुअल सम्पत्ति ट्र्याकिङलगायत विषयमा विस्तृत छलफल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *