`

अभौतिक सांस्कृतिक सम्पदा विधेयकको नाम फेर्न सुझाव

Nepal One HD २१ माघ २०८२ १७:५०
प्रमुख खबर

काठमाडाैं । राष्ट्रिय सभा सदस्यहरुले अभौतिक सांस्कृतिक सम्पदा विधेयकको नाम फेर्न सुझाव दिएका छन् ।  बुधवार विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय सभाका सदस्यहरूले साँस्कृतिक सम्पदाहरु अभौतिक नहुने उल्लेख गरेका छन् । सांसदहरूले विधेयकमा गुठी व्यवस्थापन, विगतमा चलिआएका अव्यवहारिक मौलिक परम्परालाई हटाउने लगगायतका कुरा ठोस रुपमा नआएकोमा पनि असन्तुष्टी जनाएका छन् ।

बैठकमा राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले कालिगण्डकी नदी र त्यससँग जोडिएको सभ्यतालाई अभौतिक सम्पदाको परिभाषाभित्र राख्न नमिल्ने तर्क गरे। उनले कालिगण्डकी नदी, देवघाटदेखि मुक्तिनाथसम्मका तीर्थस्थल र सालीग्राम संरक्षणयोग्य सम्पदा रहेको बताए। उनले ती सम्पदाहरु अभौतिक नभई चलायमान र भौतिक अस्तित्वसँग जोडिएको सभ्यता भएको उल्लेख गरे ।

उनले भने- ‘हाम्रो कालीगण्डकी, देवघाटदेखि मुक्तिनाथसम्मका तीर्थस्थलहरु र त्यहाँ पाइने सालीग्राम यी सबै हाम्रा संरक्षण गर्नुपर्ने सम्पदा तथा संस्कृति हुन् । सलल बग्ने कालिगण्डकी अभौतिक हुन सक्दैन, उ त गतिशील छ, बगिरहेकै छ । हरेक सम्पदा तथा परम्परालाई समुदायले चलायमान बनाईरहेको हुन्छ, भाषा, रितिरिवाज, शैलीहरु समुदायका चलायमान हुन्छन् । ’

राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरले परम्पराको नाममा नकारात्मक अभ्यासलाई संरक्षण गर्न नहुने बताए। उनले छुवाछुतजस्ता कु–प्रथालाई सांस्कृतिक परम्पराको नाममा निरन्तरता दिनु गलत भएको उल्लेख गरे । मान्छेले अभ्यास गर्दै आएको भन्दैमा सबै कुरा संरक्षण योग्य नहुँने उनको भनाई छ । वस्तुनिष्ठ र जनउपयोगी नभएका तथा समाजलाई नकारात्मक असर पार्ने सांस्कृतिक परम्पराको नाममा संरक्षण गर्न नहुनेमा उहाँले जोड दिए ।

‘मान्छेले अभ्यास गर्छन् तर त्यो एकदमै नकरात्मक छ भने त्यसलाई निरन्तरता दिनु हुँदैन, छुवाछुत जस्तो कुप्रथालाई परम्परा भनेर अगाडी बढाउन हुँदैन,’ उनले भने,’यसलाई अन्त्य गरेर अगाडी जानुपर्छ । जुन वस्तुवादी छैनन्, जुन जनउपयोगी छैनन्, त्यस्ता परम्पराहरुलाई साँस्कृतिक परम्पराको नाममा संरक्षण गर्नेमा हामी जानु हुँदैन ।’

राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले विधेयकमा मूर्त र अमूर्त सम्पदाको वर्गीकरण गर्दा केही महत्वपूर्ण विषय छुटेको बताए। उनले विशेषगरी गुठीसम्बन्धी विषय विधेयकमा समेटिन नसकेको उल्लेख गरे । यसलाई पनि समावेश गरेर अघि बढ्नुपर्ने उनको सुझाव छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *