संघर्ष र साधनाबाट स्थापित गायक बेल बहादुर परियार
बर्दिबास – रेडियो नेपालबाट पहिलोपटक स्वर दिएको दिनदेखि आजसम्म लोक संगीतको बाटो नछोडेका गायक बेल बहादुर परियारले आफ्नो नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ सार्वजनिक गरेका छन् । मङ्गलबार बर्दिबासमा आयोजित विमोचन समारोहले उनको निरन्तर साधना र संघर्षलाई पुनः एकपटक उजागर गरेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटल, बर्दिबासमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा गीतको म्युजिक भिडियो विमोचन गरे । कार्यक्रममा उपस्थित दर्शकले भिडियो अवलोकन गर्दै कलाकारलाई उत्साहजनक प्रतिक्रिया दिएका थिए ।
परियार र प्रतिमा अर्यालको स्वरमा सजिएको गीतले प्रेम, बिछोड र स्मृतिको भावलाई सरल शब्दमा प्रस्तुत गरेको छ । शब्द र संगीतमा परियारकै सिर्जना रहेको गीतलाई राजिव शाहले आधुनिक स्वादमा एरेञ्ज, मिक्स तथा मास्टरिङ गरेका छन् । भिडियोमा सन्जिब ठकुरी र सुजाता भट्टराईले कथालाई जीवन्त बनाएका छन् । निर्देशन मिलन श्रेष्ठले गरेको भिडियोमा कोरियोग्राफी राजाराम सिंखडा र छायाङ्कन सन्तोष तिमल्सिनाको रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर प्रह्लाद कुमार क्षेत्रीले लोक संस्कृति संरक्षणमा यस्ता सिर्जनाको महत्वपूर्ण भूमिका रहने बताए । उनले स्थानीय कलाकारलाई प्रोत्साहन गर्दै बर्दिबासलाई सांस्कृतिक पहिचानको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।
प्रमुख अतिथि सारदा देवी थापाले परियारको लामो सांगीतिक यात्रालाई संघर्षशील कलाकारको प्रेरक उदाहरणका रूपमा वर्णन गरिन् । उनले सीमित प्रचार र स्रोतबीच पनि निरन्तर सिर्जनामा लागिरहेका कलाकारलाई समाज र सञ्चार माध्यमले साथ दिनुपर्नेमा जोड दिइन् ।
गीत विमोचन समारोहमा बोल्दै गायक परियारले दर्शक–श्रोताकै माया र विश्वासका कारण आफू आजसम्म गीतसंगीतमै टिकिरहन सकेको बताए ।
