`

सातौँ चरणको भन्सार सुधारलाई निर्यातमैत्री बनाउन जोड

Nepal One HD २३ माघ २०८२ १२:५६
प्रमुख खबर

काठमाडाैं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम रानाले व्यापारको समयसँगै लागत घटाउने गरी भन्सार सुधार गर्न जरुरी रहेको बताएका छन्।

नेपाल तयारी पोशाक उद्योग संघले निकासी प्रवद्र्धन गर्न सातौँ चरणको प्रश्तावित भन्सार सुधारमा समावेश गर्नुपर्ने सम्भाव्य क्षेत्रहरूका बारेमा आयोजना गरेको कार्यक्रममा उनले कतिपय प्रक्रियागत ढिलाइका कारण व्यवसायीहरुको लागत समेत बढेकाले त्यसलाई सुधार्न ध्यान दिनुपर्ने बताए। उनले भन्सारले व्यवसायीलाई दुःख दिने नियतले अनावश्यक कागजात माग्न नहुने समेत स्पष्ट पारे ।

निर्यातका लागि कतिपय व्यवसायीहरू व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमा सिफारिस माग्न आउने गरेको उल्लेख गर्दै रानाले केन्द्रले दिने भनेको जिसिएप मात्र भएकाले  अधिकांश व्यवसायीले यो सुविधा लिइसकेको अवस्थामा पुनः अनावश्यक सिफारिस लिन केन्द्र धाउन नपर्ने बताए।  निर्यातका क्रममा समस्या आएमा वाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार सहजीकरण सम्बन्धी समितिमा व्यवसायीहरूले निर्धक्क भएर कुरा राख्न समेत उनले आग्रह गरे ।

रानाका अनुसार उक्त समितिमा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेकाले हिच्किचाउनुपर्ने अवस्था छैन । साथै, भन्सारमै पनि व्यापार सहजीकरण समिति रहेको र त्यहाँ पनि निजी क्षेत्रको प्रतिनिधित्व भएको स्मरण गराउँदै रानाले व्यापारमा देखिएका समस्या र लागतसम्बन्धी विषय ती संयन्त्रहरूमा व्यवसायीहरूले पर्याप्त रूपमा नउठाएको प्रति चिन्ता व्यक्त गरे । त्यस्ता समितिहरूमा व्यवसायीले आफूले भोगेका वास्तविक समस्या उठाए राज्यका निकायले समेत समाधान गर्न सहज हुने उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *