`

देश निर्माणको बहस होइन, सञ्जालमा गालीगलोजको बाढीपछि…(भिडियो)

Nepal One HD २३ माघ २०८२ १६:११
निर्वाचन विषेश

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले जनजीवनकेन्द्रित राजनीतिक मुद्दा भन्दा पनि सामाजिक सञ्जालमा गालीगलोजको बाढी आएकोप्रति असन्तुष्टि जनाएका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनअघि खासगरी नयाँ भनिएका दलका नेता, कार्यकर्तादेखि समर्थकहरू र पुराना भनिएका दलका नेता, कार्यकर्ताहरूदेखि समर्थकहरू आपसी छेडछाडमा उत्रिने गरेको अवस्थाबीच शर्माको असन्तुष्टि प्रकट भएको हो ।

उनका अनुसार निर्वाचनअघि दलहरूले जनतामाझ आफ्नो सैद्धान्तिक, राजनीतिक र देश विकासको कार्यक्रमिक योजना लानुपर्छ ।

राष्ट्रियता, जनजीविका, जनजीवनको परिवर्तनलगायत मुद्दामा बहस नै गरेका छैनन् । यसप्रति रुष्ट उनले शुक्रबार राष्ट्रिय सभा बैठकमा भने, ‘फेसबुकमा जे पायो त्यही लेख्या छ, गालीगलोज गर्‍या छ । तथानाम गर्‍या छ, यसले त असहिष्णुता निर्माण गर्छ, दृष्टिकोण गलत हुने देखिन्छ,’ उनले भने, ‘हामी कसको पक्षमा काम गर्दैछौँ ? राष्ट्रियता, जनजीवन, जनपरिवर्तनको दृष्टकोण के हो ? कार्यक्रम, नीति र सिद्धान्तको कार्यान्वयन कसरी ?’

यतिबेला सामाजिक सञ्जालहरू उत्तेजना, लाञ्छना, घृणा, विद्वेष र भ्रम फैलाउने माध्यम बनेका छन् ।

नयाँ भनिएका दलहरू रास्वपा, श्रम शक्ति पार्टीलगायत दलका खासगरी नेता कार्यकर्ता र समर्थकहरूले पुराना भनिने कांग्रेस, एमाले, नेकपा, राप्रपादेखि जसपासम्मका दलका नेताहरूलाई भ्रष्ट भन्दै आरोपित गरिरहेका छन् ।

पुराना भनिएका दलका नेता, कार्यकर्तादेखि समर्थकहरूले नयाँ भनिएका दल र तिनका नेताहरूलाई ‘विदेशी दलाल’ जस्ता गम्भीर आरोप लगाइरहेका छन् ।

अझ तल्लोस्तरका गालीगलोज र टिप्पणी पनि हुने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *