`

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

Nepal One HD २३ माघ २०८२ १८:५०
समाचार

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नती कार्यलाई तीव्रता दिइएको छ । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नति कार्यलाई तीव्रता दिइएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार पहिलो चरणमा आगामी चैतसम्ममा फराकिलो स्थानमा कालोपत्र सक्ने र बाँकी अन्य काम क्रमशः गर्दै निर्धारित समयमा सकिने कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

विभिन्न स्थानमा कटिङको कामबाट पुनःविस्तार कार्यलाई तीव्रता दिइएको उनको भनाइ छ । “आउँदो चैतभित्र कालोपत्रको काम सम्पन्न गर्नेगरी हाल साना संरचना तथा टेवा पर्खाल निर्माणका काम भइरहेका छन्”, योगेशले भने ।

उनले चिसो मौसमका कारण सडकमा सतह (सर्फेस)को काम नभएको र चिसो कम हुने बित्तिकै सतहको काम गरेर चैतभित्र कालोपत्रको कामसक्ने योजना रहेको बताए । कालोपत्रको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिने छ । उक्त सडकखण्ड सात मिटर चौडाइको बन्ने जनाइएको छ । सडकमा रहेको पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोग गरिने छ ।

यसैबिच निर्माण कार्यमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ । कार्यालयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो । चार किलोमिटर दूरीको उक्त सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सक्नेमा आशावादी भएको योगेशले बताए ।

जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो ।

सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत साल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो । सडक विस्तारको काम गौरी–पार्वतीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो ।

यसअघि धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम मात्रै भएको थियो भने जिपलाइन स्थानदेखि तल खावासम्मको करिव सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको थियो ।

निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि ठेकेदार कम्पनीले २५ प्रतिशतसमेत निर्माणको काम सकेको थिएन । अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायतका जिल्लातर्फ जाने मुख्य सडकका रुपमा समेत रहेको उक्त राजमार्ग समयमै नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य भएका छन् ।

उक्त सडकमा गुड्ने मालवाहक सवारीसाधनको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले योजना जनाएको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनर्निर्माणका लागि भत्काइएको सडकमा दुर्घटना हुँदा सयौँ यात्री घाइते भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *