`

महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ ट्रेलर सार्वजनिक

Nepal One HD २३ माघ २०८२ २०:२७
चलचित्र

काठमाडौँ । महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ ट्रेलर सार्वजनिक गरिएको छ । आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने उक्त फिल्मको ट्रेलर आज काठमाडौँ नयाँ बानेश्वरस्थित वान सिनेमामा आयोजित एक कार्यक्रममा महानायक हमाल, फिल्मका निर्देशक तथा अभिनेता श्याम क्षेत्रीले संयुक्त रुपमा सार्वजनिक गरे । उक्त कार्यक्रममा नेपाली फिल्मसँग जोडिएको सङ्घ संस्थाहरू चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, निर्माता सङ्घका अध्यक्ष उदय सुब्बाले निर्देशक क्षेत्रीलाई फिल्मनगरीमा स्वागत गरेका थिए ।

महानायक हमालले फिल्ममा जोडिनुको कारण विषयवस्तु र त्यसले दिने संदेश रहेको बताए । उनले भने, ‘ नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको उक्त फिल्मलाई श्याम क्षेत्रीसँगै राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् । प्रवासीहरूको सुख दुःख, आरोह अवरोह र चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाएर फिल्म तयार गरिएको निर्देशक मध्येका एक श्याम क्षेत्रीले बताए । उनले भने, ‘प्रवासमा पुग्ने जो कोहिले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउनु हुनेछ । हामीले भौतिक रुपमा देखिने दुःखका धेरै चर्चा गर्छौँ तर मानसिक रुपमा भोहिरहेको यातनालाई वे–वास्ता गर्ने गरेका छौँ । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौँ ।’

उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने बताए । फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।

‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यसमेत रहेको उक्त फिल्ममा अभिनेता हमाल र अभिनेत्री लामिछाने विषयवस्तुकै कारण जोडिएका हुन् । अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायाङ्कन गरिएको उक्त फिल्मलाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको छ । ‘डाईङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’ फिल्म निर्माण गरेका छायाँकार रविन आचार्यले यस फिल्मलाई निर्माण गरेका हुन् ।निर्माता आचार्यले अभिनेता हमाल फिल्मसँग जोडिनुलाई विषयवस्तुकै आकर्षणका रुपमा प्रस्ट्याए ।

‘यसको विषयले एउटा सचेतना पनि दिन्छ, यो प्रवासी जीवनको उज्यालो र अध्यारोसँग जोडिएको कथा हो । हामीले निकै कम चर्चा गर्ने मानसिक स्वास्थ्यको समस्या र त्यसपछिको सुन्दर जीवनले प्रेरणा दिन्छ भन्ने हामीलाई लागेको छ । यो प्रवासमा रहेका आफ्नो परिवारको बारेमा बुझ्न पनि हेर्नु पर्ने एउटा फिल्म बनेको छ’, निर्माता आचार्यले भने ।

फिल्मको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।यसमा अमृत बिसुवाले छायाङ्कन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्व सङ्गीत, देवी खतिवडाले शृङ्गार, राज शङ्कर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले सङ्गीत सिर्जना, मुख्य सहायक निर्देशन लक्ष्मण अधिकारीले गरेका छन् भने प्रमोद खरेल र प्रताप दास जस्ता गायकले स्वर दिएका छन् । फागुन १५ देखि देशव्यापी प्रदर्शन हुने उक्त फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *