`

उपराष्ट्रपति यादवसँग जापानी राजदूतको शिष्टाचार भेट

Nepal One HD २६ माघ २०८२ १८:१०
राजनीति

काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार शिष्टाचार भेट गर्नुभएको छ भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, संस्कृति तथा पर्यटन क्षेत्र र जनस्तरको सम्बन्धलगायत विविध विषयमा छलफल भएको थियो ।

उपराष्ट्रपति यादवले नेपाल र जापानबीच इतिहास र संस्कृतिमा आधारित लामो सम्बन्ध रहिआएको बताउनुभयो । ‘सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सहयोग, निकटता र गहिरो मित्रताका साथ सम्बन्ध अघि बढिरहेको छ ’ उहाँले भन्नुभयो, ‘ दुई मुलुकबीच उच्चस्तरीय भ्रमण आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याएको छ ।’

उहाँले नेपालले सदैव जापानसँगको सम्बन्ध र सहयोगलाई उच्च महत्व दिँदै आएको उल्लेख गर्दै यस वर्ष मनाइँदै गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव, द्विपक्षीय सम्बन्धको एक महत्वपूर्ण कोशेढुङ्गा भएको बताउनुभयो ।

‘ नेपालका लागि जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहिआएको छ’, उहाँले भन्नुभयो, ‘ सन् १९५४ देखि जापानले नेपाललाई द्विपक्षीय अनुदान, ऋण,बहुपक्षीय सहायता तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।’

जापानबाट सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण तथा संस्कृति रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपालले औद्योगिक विकास, कृषि, जलविद्युत, पूर्वाधार विकास लगायत क्षेत्रमा जापानको अनुभव, सीप र प्रविधिबाट लाभान्वित हुने अपेक्षा राखेको बताउनुभयो ।

‘नेपाल २०२६ मा अतिकम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नति हुँदै गर्दा जापानबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु’, उहाँले भन्नुभयो, ‘द्विपक्षीय व्यापार विस्तार र लगानी आकर्षणमा ठूलो सम्भावना छ । नेपालले कानुनी तथा संस्थागत सुधारमार्फत जापानी लगानीकर्ताको हित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । ’

जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति कार्यक्रममार्फत नेपालका सरकारी अधिकारीहरूलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएकोमा खुशी व्यक्त गर्दै गौतम बुद्धको शिक्षाबाट प्रेरित सामाजिक–सांस्कृतिक सम्बन्ध नेपाल र जापानबीच गहिरो रूपमा विद्यमान रहेको बताउनुभयो।

‘बुद्ध जन्मस्थल लुम्बिनीले दुई मुलुकबीच बलियो पुलको काम गरेको छ, जसको विकासमा जापानको सहयोगप्रति नेपाल हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘वर्षेनी हजारौं जापानी पर्यटक नेपाल भ्रमण गर्ने गरेका छन्, र भविष्यमा यो संख्या अझ बढ्ने विश्वास व्यक्त गर्दछु । ’

उहाँले जापानमा करिब तीन लाख नेपाली समुदायको उपस्थिति द्विपक्षीय सम्बन्धको एक उल्लेखनीय पक्ष भएको उल्लेख गर्दै नेपालले जापान सरकारको सद्भावना र समझदारीप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

जापानका सम्राटको शुभजन्मोत्सवको अवसरमा काठमाडौंस्थित जापानी राजदूतावासद्वारा आयोजना गरिन लागेको स्वागत समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा गरिएकोमा उपराष्ट्रपति यादवले धन्यवाद व्यक्त गर्दै सहर्ष सहभागी हुने बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *