`

बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदमा यथावत् राख्ने निर्णय

Nepal One HD २६ माघ २०८२ १८:१२
राजनीति

काठमाडौँ। निर्वाचन आयोगले गुठी संस्थानलाई श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका औतारी धर्मगुरु श्री भूपतिबज्र लामालाई साविककै पदमा बहाल गरी सोको जानकारी माघ २७ गते कार्यालय समयभित्र गराउन निर्णयअनुसार पत्राचार गरेको छ ।

आयोगको आइतबारको निर्णयअनुसार यस्तो पत्राचार गरिएको कानुन अधिकृत मोहनराज जोशीले राससलाई जानकारी दिनुभयो । संस्थानले माघ ९ गते श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामा भूपतिबज्र लामालाई पदबाट हटाउने निर्णय गरेको थियो । संस्थानले निर्वाचन आचारसंहिता लागू भएकै दिन माघ ४ गते नै प्रमुख लामा भूपतिबज्र लामासँग स्पष्टीकरण सोधेको थियो ।

संस्थानको निर्णयविरुद्ध लामाले गत माघ १३ गते आयोगमा निर्वाचन आचारसंहिताविपरीत हटाइएको भनी उजुरी गर्नुभएको थियो । आयोगले संस्थानसँग स्पष्टीकरण माग गरेकामा चित्तबुझ्दो नभएपछि लामालाई साविककै पदमा बहाल गराउन संस्थानलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

संस्थानले धर्मगुरु रिन्पोछेको रुपमा कार्यरत चिनियाँ लामालाई पदबाट हटाई लामा नियुक्तिसम्बन्धी कार्यविधि, २०७८ को दफा २ बमोजिमको प्रक्रिया अघि बढाउने निर्णय पुस २३ गते गठन गरेको बौद्ध तथा मेलम्ची घ्याङ गुठीको जग्गा खोजवीनसम्बन्धी उपसमितिको प्रतिवेदनमा आधारित भई गरेको नदेखिएको आयोगको पत्रमा उल्लेख छ ।

संस्थानको माघ ९ गतेको निर्णय तथ्यपरक, न्यायसँगत एवं निर्वाचनको स्वच्छता र निष्पक्षताको सिद्धान्तसमेतको अनुकूल नदेखिएकाले लामालाई साविककै पदमा बहाल गर्ने गरी आयोगले निर्णय गरेको हो ।

संस्थानका सूचना अधिकारी जनक पोखरेलले पनि आइतबार नै आयोगको पत्र प्राप्त भएको स्वीकार गर्दै बौद्ध तथा मेलम्ची घ्याङ गुठीका लामालाई पदमा पूर्ववत् यथावत् राख्न भनेको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *