तामाकोशीमा दुर्घटना : क्षतिपूर्तिको सहमतिपछि मृतकको शव आफन्तले बुझ्ने
काठमाडौं । तामाकोशी नदीमा खसेर बस दुर्घटना हुँदा मृत्यु भएकाहरूको शव आफन्तले बुझ्ने भएका छन् ।
स्थानीय प्रशासन, मृतकका आफन्त र अरनिको बस यातायात सेवा प्रा.लि.बीच आठ बुँदे सहमति भएसँगै आफन्तले शव बुझ्ने भएका हुन् ।
मंगलबार रामेछापको मन्थलीस्थित सेलेघाटमा काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो ।
तीन जना बेपत्ता छन् । आठ जना घाइते भएका छन् । उनीहरूको धुलिखेलसँगै काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि मृतकका आफन्तहरूले बुधबार सदरमुकाम मन्थलीमा प्रदर्शन गरेका थिए ।
सवारी आवतजावत नै अवरुद्ध गरेका थिए । त्यस क्रममा प्रदर्शनमा उत्रिएका मृतकका आफन्तहरू र प्रहरीबीच घम्साघम्सीसमेत भयो । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाइ फायर गर्नुपरेको थियो ।
अन्ततः राजनीतिक दलहरूको सहजीकरणमा स्थानीय प्रशासन, अरनिको बस यातायात प्रा.लि. र मृतकका आफन्तहरूबीच क्षतिपूर्ति दिनेलगायतका आठ बुँदै सहमति भएको हो ।
घाइतेको उपचारमा कमी हुन नदिने र बेपत्ता भएकाहरूको खोजीका लागि सेना र प्रहरीको गोताखोर टोली परिचालन गर्ने पनि सहमति भएको छ ।
