कानुन निर्माण अड्कलबाजीको विषय हाेइन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुन निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाउन नहुने बताएका छन् ।
कुष्ठरोगको क्षेत्रमा गरिएको एक विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटीद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा प्रष्टयाए ।
कानुन निर्माणमा सम्बन्धित पक्षको सहभागिता नहुँदा त्यो कानुन कार्यान्वयनका लागि योग्य हुने अवस्था नरहेको तर्फ पनि सचेत गराए ।
उनले अन्धविश्वासको भरमा कानुन निर्माण गर्ने कुराका कारण कुष्ठरोग निवारणमा पनि समस्या देखिएको तथ्य औँल्याए । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सम्बन्धित पक्षसँग अन्तरंग कुराकानी गरेर मात्रै कानुन निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘कानुन निर्माणको विषयलाई अडकलको विषय बनाइनुहुन्न । किनभने कानुन निर्माणमा सहभागिता राख्ने अवसर नै थिएन । कुष्टरोगलाई महारोग भनिन्थ्यो । त्यसलाई छुनै नहुने रोगको रुपमा हेरियो । कुष्ठरोगको विषयमा किञ्चित विचार नै नगरीकन यसका विभिन्न चरणहरु छन् । यो निको हुनसक्छ । यसका कार्यक्रमहरु हुन सक्छन । यसको सामान्यीकरण गर्न सकिन्छ । जीवनमा यसलाई पुनर्वास गर्न सकिन्छ ।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कुष्ठराेग निवारण हुने र उनीहरुले पनि समाज र राष्ट्रका योगदान गर्न सक्छन भन्ने कुरालाई भुल्न नहुने पनि बताए ।
