`

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

Nepal One HD १३ फागुन २०८२ २१:०९
राजनीति

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन सबैसँग आग्रह गर्नुभएको छ ।स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा आज यहाँ आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको’ भूमिका विषय कार्यक्रममा उहाँले निर्वाचनका लागि स्वच्छ वातावरण बनाउन सरकार, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र सञ्चारजगतको महत्त्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो ।

अध्यक्ष मगरले भन्नुभयो, “जनताले निष्पक्ष रूपमा आफ्नो सक्षम र योग्य जनप्रतिनिधि छान्न पाउनुपर्छ । मतदातालाई दिग्भ्रमित हुने कार्य कसैबाट हुनुहुन्न ।”नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक डम्बरबहादुर विकले निर्वाचन सुरक्षा व्यवस्थापन र तयारीका हिसाबले मतदानका दिन गर्नुपर्नेबाहेक सम्पूर्ण तयारी पूरा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आममतदाताले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउनुहुन्छ । त्यसका लागि राजनीतिक दल र उम्मेदवार आवश्यक सहयोग हुनेछ ।”

नेपाल प्रहरी निर्वाचनको पहिलो घेरामा रहेर जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले मतदाताको निर्वाचनप्रतिको चासो र सुरक्षाकर्मीको मनोबल उच्च रहेको बताउनुभयो ।
सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक गणेश ढाडामगरले देशको विशिष्ठ परिस्थितिपछि हुन लागेको निर्वाचनप्रति आमनागरिकमा चासो रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन आयोग र एकीकृत सुरक्षा योजनाअनुरूप दोस्रो घेरामा रही सुरक्षा प्रदान गर्नेछ । केन्द्र, प्रदेश र जिल्लामा सुरक्षा सेल खडा गरी हुनसक्ने सुरक्षा चुनौतीको विश्लेषणका साथ सुरक्षा बन्दोबस्ती मिलाइएको छ ।”

निर्वाचन आयोगका प्रतिनिधि उषा गजमेरले निर्वाचन आचारसहिता लागू भइसकेकाले राजनीतिक दल, उम्मेदवार र सरोकारवाला सबैले त्यसको पालना गर्न आग्रह गर्नुभयो ।निर्वाचनमा कुनै उम्मेदवारलाई लक्षित गरी आरोप प्रत्यारोग गरेमा दण्डको भागिदार हुनुपर्ने कानुनी व्यवस्था रहेको बताउँदै उहाँले राजनीतिक दल र उम्मेदवार मुख्य जिम्मेवार भएकाले विभिन्न समयमा आयोगले छलफल र परामर्श गरिसकेको जानकारी दिनुभयो । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *