काठमाडौं – सरकारले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि प्रक्रिया थप सहज बनाएको छ।
अध्यागमन विभागले जारी गरेको सूचनाअनुसार अब भ्रमण वा अन्य प्रयोजनका लागि विदेश जाने नेपालीले आवश्यक स्व-घोषणा फाराम आफैं अनलाइनबाट भरेर डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ।
अध्यागमन कार्यविधि, २०६८ को दफा ३.१ (घ) अनुसार विदेश प्रस्थानका लागि कम्तीमा ६ महिना वैध राहदानी, यात्रा उद्देश्य खुल्ने सम्बन्धित देशको भिसा र आवश्यक कागजात अनिवार्य हुने प्रावधान यथावत् राख्दै विभागले सेवा प्रवाहलाई छरितो बनाउन डिजिटल प्रणालीलाई प्राथमिकता दिएको हो।
विभागका अनुसार यसअघि फाराम भर्ने प्रक्रियामा अन्योल हुँदा अध्यागमन कक्षमा भीडभाड र ढिलासुस्ती हुने गरेको थियो।
अब भने सेवाग्राहीले घरमै बसेर स्व-घोषणा फाराम भरी आवश्यक कागजात तयारी गरी मात्र अध्यागमन कार्यालय पुग्न सक्नेछन्।
यसले समय बचत हुनुका साथै प्रस्थान प्रक्रिया व्यवस्थित र पारदर्शी बन्ने विश्वास विभागले गरेको छ।
स्व-घोषणा फाराम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको वेबसाइट https://tia.immigration.gov.np/ बाट वा उपलब्ध क्यूआर कोड स्क्यान गरी डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।
अध्यागमन विभागले यात्रुहरूलाई यात्रा अघि आवश्यक कागजात सुनिश्चित गर्न र तोकिएको प्रक्रिया पालना गर्न आग्रह गरेको छ।
कुनै समस्या परेमा सम्बन्धित अध्यागमन कार्यालयका सूचना अधिकृतसँग सम्पर्क गर्न सकिने जनाइएको छ।
