`

पश्चिम एसियामा जारी तनाव संयम र कुटनीतिद्वारा हल गर्न नेपालको आह्वान

Nepal One HD १७ फागुन २०८२ १५:११
विश्व

नेपालले पश्चिम एसियामा जारी तनाव संयम र कुटनीतिद्वारा हल गर्न आह्वान गरेको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमार्फत नेपालले बढ्दो तनावलाई कूटनीति र संवादबाट समाधान गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको हो।

मन्त्रालयले सबै पक्षलाई अधिकतम संयम अपनाउन, तनाव थप नबढाउन र सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्न जोड दिएको छ। साथै संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुसार राज्यको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान हुनुपर्ने नेपालको अडान रहेको छ।

शनिबार संयुक्त राज्य अमेरिका र इसराइलले इरानमाथि हमला गरी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको छ। प्रतिक्रियास्वरूप इरानले साउदी अरब, कतार र युएईसहित खाडी तथा मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य अखडाहरूमा मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ।

यी देशहरूमा ठूलो संख्यामा नेपाली श्रमिकहरू कार्यरत रहेकाले नेपाल सरकारले उनीहरूलाई सतर्क रहन र आफ्नो नजिकको नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा रहन आग्रह गरेको छ। सरकारले मध्यपूर्वको परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *